काठमाण्डु– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ र पदीय अधिकारको दुरुपयोगबाट प्रहरी संगठनको छवि बिग्रने भन्दै प्रहरी अधिकृतलाई जिम्मेवार, इमानदार र अनुशासित भएर काम गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले जनताको सेवामा समर्पित प्रहरीले पदीय मर्यादा र व्यावसायिक निष्ठा कायम राख्नुपर्ने बताएका हुन् ।
उनले भने सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्न गर्नेछन्,
उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव तथा अधिकारको दुरुपयोगबाट प्रहरी सङ्गठन नै बदनाम हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरे ।
प्रहरी नेतृत्व आदेशमा मात्र नभई आफ्नो व्यवहार र उदाहरणबाट स्थापित हुनुपर्ने उल्लेख गर्दै कार्कीले दीक्षित प्रहरी निरीक्षकहरूलाई जनताप्रति संवेदनशील भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
उनका अनुसार सेवाग्राहीसँगको व्यवहार, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबल, अनुशासन, समुदायसँगको सम्बन्ध र कठिन परिस्थितिमा लिइने निर्णयले प्रहरी नेतृत्वको वास्तविक मूल्यांकन गर्छ ।
“प्रहरीको पोसाकले परिचय दिए पनि आचरणले नेपाल प्रहरीको पहिचान बनाउँछ,” उनले भने, “प्रहरीको पदले अधिकार दिन्छ, तर चरित्रले त्यस अधिकारलाई वैधता दिन्छ । त्यसैले पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुँदैन ।”
तालिम पूरा गरेसँगै प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने बताउँदै आईजीपी कार्कीले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषबाट मुक्त भई निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए । प्रहरी निरीक्षकको पद दर्जा मात्र नभई निर्णय क्षमता र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको उनको भनाइ थियो ।



प्रतिक्रिया