‘बाः एक योद्धा’ले बक्सअफिसमा पार गर्‍याे ३ करोडको आकडा

‘बाः एक योद्धा’ले बक्सअफिसमा पार गर्‍याे ३ करोडको आकडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चलचित्र ‘बाः एक योद्धा’ले बक्सअफिसमा आफ्नो रफ्तार कायमै राखेको छ । बलियो वर्ड अफ माउथ पाएको चलचित्रले बक्सअफिसमा तीन करोडको आकडा पार गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार आइतबारसम्म यो चलचित्रले तीन करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

तथ्यांक अनुसार यो चलचित्र हालसम्म एक लाख ७ हजार ५३३ जना दर्शकले हेरेका छन् । अहिले पनि ‘बाः एक योद्धा’ उच्च अकुपेन्सीमा चलिरहेको छ ।

तेस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा करिब एक करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । निर्माण पक्षका अनुसार हिजो आइतबारसम्म यो चलचित्रले ३ करोड ९ लाख माथिको व्यपार गरेको छ ।

चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।