आईएसटी कलेजका विद्यार्थीद्वारा बाढी प्रभावितका लागि ५ लाख ५ हजार सहयोग

आईएसटी कलेजका विद्यार्थीद्वारा बाढी प्रभावितका लागि ५ लाख ५ हजार सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्टरनेसनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेका छन् ।

कलेजका बीएचएम र बीटीटीएम संकायमा अध्ययनरत विद्यार्थीहरू, कर्मचारी तथा व्यवस्थापन टीमले प्राकृतिक प्रकोपबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार रुपैयाँ जम्मा गरेका हुन् ।

कलेजका सीईओ नरेन्द्र बर्जाचार्य, प्रिन्सिपल सम्झना विष्ट बस्नेत र निर्देशक तेजबहादुर ढकालले सहयोग रकमको चेक ऊर्जामन्त्री श्रेष्ठलाई सोमबार मन्त्रालयमा हस्तान्तरण गरेका छन् । सो अवसरमा पूर्वउपसभामुख इन्दिरा रानामगर सहभागी थिइन् ।

कलेजका लेखा प्रमुख रमेश प्रजापतिले बाढीपीडितको राहत, उद्धार र पुन:स्थापनाका लागि कलेजका तर्फबाट हातेमालोको प्रयास गरिएको बताए ।

यो योगदानले नेपालको आतिथ्य क्षेत्रका भावी व्यवसायीका रूपमा रहेका युवाहरूमा रहेको करुणा, ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको भावनालाई झल्काउने कलेजले जनाएको छ । यस पहलमार्फत विद्यार्थी, कर्मचारी र कलेज व्यवस्थापनले प्राकृतिक प्रकोपका कारण कठिनाइ र पीडा भोगिरहेकाहरूप्रति आफ्नो सहानुभूति प्रकट गरेको पनि कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यस कार्यले दक्ष हस्पिटालिटी व्यवसायी मात्र नभई समाजप्रति चासो राख्ने र विपत्तिको समयमा एकजुट हुने जिम्मेवार नागरिक तयार पार्नुको महत्त्वलाई उजागर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।