कांग्रेस महाधिवेशनको नतिजा : वर्षौँको संघर्ष ओझेलमा, पहुँच र प्रभावको बोलवाला ?

कांग्रेस महाधिवेशनको नतिजा : वर्षौँको संघर्ष ओझेलमा, पहुँच र प्रभावको बोलवाला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देश दिएको छ। गगन थापाको नेतृत्वमा नयाँ पदाधिकारी निर्वाचित भइरहँदा महाधिवेशनको मतपरिणामले कांग्रेसभित्र अर्को बहस पनि जन्माएको छ।

वर्षौंको राजनीतिक संघर्ष, वैचारिक प्रतिबद्धता, संगठन निर्माणमा योगदान र पार्टीभित्र परिवर्तनका लागि खेलेको भूमिकाले मात्रै नेतृत्वमा पुग्न पर्याप्त हुन्छ कि पहुँच, प्रभाव र प्रतिनिरूसँगको राजनीतिक समीकरण पनि निर्णायक बन्छ?

सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागितामा भएको निर्वाचनका परिणामले यो प्रश्नलाई थप पेचिलो बनाएका छन्। केही उम्मेदवारले उल्लेख्य मतसहित जित हासिल गरेका छन् भने पार्टीभित्र लामो समय संघर्ष गरेका र परिवर्तनका पक्षमा उभिएका केही नेता पराजित भएका छन्।

समावेशी उपसभापतिमा अर्बपति व्यवसायी विनोदकुमार चौधरीको विजय, दलित समुदायबाट उच्च पदाधिकारी बन्ने अवसरको नजिक पुगेका जीवन परियारको पराजय तथा महामन्त्रीमा विशेष महाधिवेशनका अभियन्तामध्येका गुरुराज घिमिरेको हारले कांग्रेसको आन्तरिक लोकतन्त्र र समावेशिताको अभ्यासमाथि बहस निम्त्याएको छ।

यद्यपि, निर्वाचन परिणामलाई पहुँच वा आर्थिक प्रभावकै परिणाम भनेर भन्न सकिने अवस्था छैन। मतदाताले उम्मेदवारको क्षमता, राजनीतिक सम्बन्ध, संगठनात्मक प्रभाव, नेतृत्वसँगको निकटता र अन्य विभिन्न आधारमा निर्णय गर्न सक्छन्। तर, निर्वाचित र पराजित नेताहरूको राजनीतिक पृष्ठभूमि तुलना गर्दा कांग्रेसको नयाँ नेतृत्व निर्माण प्रक्रियामा कस्ता पक्ष निर्णायक बने भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।

चौधरीको जितले परियारलाई चोट

कांग्रेसको समावेशी उपसभापतिमा विनोदकुमार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए। चौधरी र परियारबीचको मतान्तर ८७ रह्यो।

यो परिणाम केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा मात्रै थिएन। यसले कांग्रेसमा समावेशी प्रतिनिधित्वको अर्थ र त्यसको व्यावहारिक कार्यान्वयनबारे बहस सुरु गराएको छ।

जीवन परियार दलित समुदायबाट कांग्रेसको उच्च पदाधिकारी बन्ने सम्भावना बोकेका नेता थिए। कांग्रेसको इतिहासमा महामन्त्रीसम्म पुगेका दलित नेता धनमानसिंह परियारपछि त्यही तहमा अर्को दलित नेताको उपस्थिति स्थापित हुन सकेको छैन। जीवन परियारको विजयले त्यो ऐतिहासिक अभाव पूरा गर्ने अवसर सिर्जना गर्न सक्थ्यो।

तर महाधिवेशन प्रतिनिधिले चौधरीलाई रोजे। चौधरी व्यवसायिक क्षेत्रमा स्थापित व्यक्ति हुन्। उनी २०६४ सालमा नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य बनेका थिए।

त्यसको एक दशकपछि २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका उनी २०७९ सालको निर्वाचनमा कांग्रेसबाट नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा निर्वाचित भएका थिए।

पार्टी परिवर्तन गर्दै फरक राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध बनाएका चौधरी अहिले कांग्रेसको उपसभापति बनेका छन्। उनको राजनीतिक यात्रालाई अवसर पहिचान र राजनीतिक अनुकूलतासँग जोडेर हेर्दा गल्ती हुँदैन। तर उनको विजयलाई व्यक्तिगत पहुँच वा आर्थिक प्रभाव मात्रै भन्न हतार हुन सक्छ।

अर्कातर्फ, जीवन परियारको पराजयले समावेशिताको प्रश्नलाई अझै जीवित बनाइदिएको छ। समावेशी पदमा उम्मेदवारी दिन पाउनु र समावेशी समुदायको ऐतिहासिक प्रतिनिधित्वलाई नेतृत्वमा स्थापित गर्न सक्नु फरक विषय हुन्। यस्तोमा नेपालकै एक मात्र डलर खर्बपतिसँग दलित समुदायको एउटा प्रतिनिधि पराजित हुँदा समावेशी अभ्यासबारे भने प्रश्न उठेको छ।

कांग्रेसको समावेशी संरचनाले विविध समुदायलाई प्रतिस्पर्धाको अवसर दिएको छ। तर त्यस्ता समुदायबाट आएका उम्मेदवारको प्रतिनिधित्वलाई पार्टीको समग्र नेतृत्व निर्माणमा कसरी अर्थपूर्ण बनाउने भन्ने प्रश्न अझै अनुत्तरित छ।

परियारको पराजयले त्यही सन्देश दिएको छ। एकातिर देशकै एक मात्रै डलर खर्बपतिले समावेशी कोटाबाट जित्दा दलित समुदायबाट लामो राजनीतिक यात्रा गरेका नेता पराजित हुनु कांग्रेसका लागि पक्कै पनि प्रश्न उठाउने विषय हुन सक्छ।

गुरुको हारले उठाएको अर्को प्रश्न

महामन्त्री पदमा गुरुराज घिमिरेको पराजयले पनि कांग्रेसको राजनीतिक वृत्तमा चर्चा पाएको छ।

घिमिरे विद्यार्थी राजनीतिबाट स्थापित भएका नेता हुन्। २०४९ सालमा विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव र २०५१ सालमा सभापति निर्वाचित भएका उनी २०५९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनेका थिए।

२०६२/६३ को जनआन्दोलनका क्रममा गणतन्त्रको पक्षमा उभिएका घिमिरेले राजतन्त्रविरुद्धको राजनीतिक संघर्षमा मुद्दा र जेल सजायसमेत भोगेको पृष्ठभूमि छ। कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणको पक्षमा आवाज उठाउँदै आएका उनी विशेष महाधिवेशनका प्रमुख अभियन्तामध्ये एक हुन्।

सभापति बनेका गगन थापासँगै तत्कालीन शाही शासनविरुद्ध अग्रमोर्चामा लडेका उनको पराजयले अनेक प्रश्न उठाएको छ। लामो राजनीतिक संघर्ष र पृष्ठभूमि भएका नेता महामन्त्रीमा पराजित हुँदा एउटा प्रश्न उठेको छ-पार्टीभित्रको संघर्ष र वैचारिक योगदानलाई महाधिवेशन प्रतिनिधिले कति महत्त्व दिए ?

घिमिरेको राजनीतिक इतिहासले उनलाई प्रतिस्पर्धाका लागि विशिष्ट पृष्ठभूमि दिएको थियो। तर महाधिवेशनको परिणाम उनको पक्षमा आएन। यसबाट प्रतिनिधिहरूले उनको संघर्षलाई अस्वीकार गरे भन्न त नमिल्ला तर चुनावी मैदानमा लगातार असफल घिमिरेले फेरि एक पटक निराशा भोगे।

निर्वाचनमा उम्मेदवारको राजनीतिक योगदानसँगै संगठनात्मक सञ्जाल, वर्तमान नेतृत्वसँगको सम्बन्ध र प्रतिनिधिहरूसँगको प्रभावसमेत जोडिने भएकाले घिमिरेका लागि यो महाधिवेशन धक्कासरह भएको छ।

तर पार्टी रूपान्तरणको अभियानमा संघर्ष गरेका नेताहरू नेतृत्वमा पुग्न नसक्दा कांग्रेसले बीपी कोइारालाहरूले कोरेको राजनीतिक विरासत र नयाँ नेतृत्वबीच कस्तो सन्तुलन कायम गर्ला भन्ने प्रश्न भने उठेको छ।

फरमुल्लाह मन्सुरको पराजय

समावेशी उपसभापतिमा फरमुल्लाह मन्सुरको पराजय अर्को गम्भीर घटना भएको छ। उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय नेता हुन्। बीपीको समयदेखि पार्टीसँग जोडिएको आफ्नो राजनीतिक पृष्ठभूमि र संगठनभित्रको अनुभवका कारण उनी पुराना पुस्ताका नेता थिए ।

उनको पराजयलाई उनी नयाँ पुस्तासँग जोडिन नसकेको रुपमा व्याख्या गर्नेहरू पनि धेरै छन्। कांग्रेसको नयाँ नेतृत्व निर्माणमा पुरानो संगठनात्मक सम्बन्ध, राजनीतिक संघर्ष र अनुभवले मात्रै उम्मेदवारलाई विजयसम्म पुर्‍याउने सुनिश्चितता रहेन। सभापति गगन थापाले भनेजस्तै कांग्रेसमा आएका नयाँ पुस्ताको मन पनि जित्नुपर्ने चुनौती उम्मेदवारहरूमा थियो ।

यद्यपि, मन्सुरको पराजयको कारण कुनै खास गुट, नेतृत्व वा प्रभावशाली व्यक्तिको निर्णयका कारण भने थिए । उनले पुराना पुस्ताका नेता-कार्यकर्तासँग राम्रो संवाद गरे पनि नयाँ पुस्तालाई तान्न नसक्दा हार भोग्नुपरेको छ।

चन्द्रकान्तको पुनरागमन

कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएका डा. चन्द्रकान्त भण्डारी १५औँ महाधिवेशनमा खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै विजयी भए। उनले ३ हजार ७३५ मत पाए। ई. मधु आचार्य २ हजार ३४२ मतसहित अर्को खुला उपसभापतिमा निर्वाचित भए।

यसपटक भण्डारीले हासिल गरेको सफलता अघिल्लो महाधिवेशनको परिणामभन्दा ठीक उल्टो छ। १४औँ महाधिवेशनमा भण्डारी पराजित हुँदा धनराज गुरुङ विजयी भएका थिए। यसपटक गुरुङ पराजित भए भने भण्डारीले लोकप्रिय मतसहित विजय हासिल गरे।

यो परिणामले कांग्रेसभित्रको नेतृत्व चयन स्थिर राजनीतिक समीकरणमा मात्रै आधारित नरहेको देखाउँछ।

अघिल्लो महाधिवेशनमा पराजित भएका नेता अर्को महाधिवेशनमा उल्लेख्य समर्थनसहित विजयी हुन सक्छन्। त्यसैगरी, एकपटक निर्वाचित भइसकेका नेताले अर्को प्रतिस्पर्धामा पराजय भोग्न सक्छन्।

भण्डारीको विजयलाई प्रतिनिधिहरूको बदलिएको प्राथमिकता र उनको पक्षमा बनेको समर्थनको परिणामका रूपमा हेर्न सकिन्छ। खासगरी भण्डारी काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास विस्फोटमा परेर घाइते भए । उनले त्यसबेला आमा पनि गुमाए ।

उनी कांग्रेसमा स्ष्ट वक्ता हुन् । तर उनी भ्युजका लागि बोल्ने नेताका रुपमा टिप्पणी हुने गरेको छ। जेन-जी आन्दोलनका समयमा उनले दिएका अभिव्यक्तिबारे अहिले पनि प्रश्न उठिरहन्छ। उनी पन्ध्रौँ महाधिवेशनको मैदानमा उत्रिएर कांग्रेसको शीर्ष नेतृत्वमा पुग्न भने सफल भएका छन् ।

घिमिरे र डिनाको हारको चर्चा

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भए। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ले ३ हजार ११८ मत प्राप्त गर्दै विजय हासिल गरिन्।

पराजित उम्मेदवारमध्ये गुरुराज घिमिरे, डा. सुनिलकुमार शर्मा, नैनसिंह महर र अमरसिंह पुन मगर पनि चर्चामा रहे। महिला महामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरिन्। उनी डिला संग्रौलाभन्दा २५४ मतले पछि परिन्।

निर्वाचित महामन्त्रीहरूले पार्टीलाई समयानुकूल, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। पराजित उम्मेदवारहरूले पनि पार्टी रूपान्तरणको अभियानलाई निरन्तरता दिने बताएका छन्।

डा. सुनिलकुमार शर्माले निर्वाचन परिणामले पार्टी रूपान्तरण र जनसेवाप्रतिको आफ्नो संकल्प कमजोर नबनाएको बताएका छन्। नैनसिंह महरले पनि कांग्रेसको पुनर्निर्माण र राजनीतिक संस्कारको रूपान्तरणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्। उनीहरूले प्रतिस्पर्धामा जित र हार भए पनि पार्टी रूपान्तरणको मुद्दा कुनै एक पदाधिकारी वा समूहमा सीमित नरहेको सन्देश दिएका छन्।

आन्तरिक लोकतन्त्रको परीक्षा

महाधिवेशनमा प्रतिनिधिहरूले दिएको मतलाई लोकतान्त्रिक निर्णयका रूपमा हरेक नेताले स्वीकार गर्नु आवश्यक भएको छ। शेरबहादुर देउवा समूहले अलग्गै पार्टीको अभ्यास गरिरहँदा गगन नेतृत्वको कांग्रेसमा महाधिवेशनका कारण फुटको अवस्था आए अर्को समस्या हुनेछ। निर्वाचनमार्फत् लोकतान्त्रिक संस्कार बलियो भए पनि नेतृत्वले पराजितहरूलाई कसरी समेट्छ, त्यो प्रतिक्षाको विषय बनेको छ।

कांग्रेसको महाधिवेशन हेर्दा मतपरिणामले कसलाई निर्वाचित गर्‍यो भन्ने प्रश्नको उत्तर दिन्छ। तर किन केही उम्मेदवारले धेरै मत पाए, किन केही अनुभवी र संघर्षशील नेता पराजित भए ?

समावेशी पदमा उम्मेदवार छनोट गर्दा प्रतिनिधिले कुन आधारलाई प्राथमिकता दिए भन्ने प्रश्नको उत्तर पक्कै पनि नेतृत्वले खोज्नेछ।

गगन थापाको नेतृत्वमा कांग्रेसले नयाँ राजनीतिक दिशा लिने प्रतिबद्धता जनाएको छ। अब त्यो प्रतिबद्धताको परीक्षण संगठन निर्माण, निर्णय प्रक्रियामा पारदर्शिता, आन्तरिक प्रतिस्पर्धाको सम्मान र सबै समुदायको अर्थपूर्ण प्रतिनिधित्व गराएपछि देखिनेछ।

जीवन परियार, गुरुराज घिमिरे र फरमुल्लाह मन्सुरजस्ता नेताको पराजयले उनीहरूको राजनीतिक योगदान सकिएको रुपमा बुझ्न हुँदैन। त्यसैगरी, विनोद चौधरी वा चन्द्रकान्त भण्डारीको विजयलाई कुनै एउटा कारणमा सीमित गरेर बुझ्दा पनि अन्याय हुन सक्छ।

महाधिवेशनको चुनावी परिणामले कांग्रेसलाई एउटा महत्त्वपूर्ण प्रश्न छाडेको छ:पार्टीले संघर्ष, विचार, संगठनात्मक योगदान र समावेशितालाई आफ्नो राजनीतिक अभ्यासमा कसरी स्थान दिन्छ?

कांग्रेसको पुनर्निर्माण केवल नयाँ अनुहारलाई पदमा पुर्‍याएर मात्रै हुने होइन। नयाँ नेतृत्वले पुरानो संघर्षको सम्मान, नयाँ विचारको स्वीकार्यता र पार्टीभित्र अवसरको न्यायोचित वितरणलाई कसरी संस्थागत गर्छ भन्ने कुराले नै रूपान्तरणको वास्तविक दिशा निर्धारण गर्नेछ।