खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद् सुनारको विवादास्पद विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।

सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता आरोप सार्वजनिक भएका छन्। पार्टीले यी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।

रास्वपाले यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा आफ्नो शून्य सहनशीलताको नीति रहेको जनाएको छ।

‘विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन। महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौं।’ विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ।

छानबिन निष्कर्षमा नपुग्दासम्म अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।

त्यस्तै, सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने स्पष्ट पारेको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धतासमेत पार्टीले व्यक्त गरेको छ।