खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’

खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता एवम् पूर्वसांसद सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्।

किरातीले सांसद पद सत्ता र ओहोदाको साधन मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकसमेत भएको उल्लेख गरेका छन्।

उनले अनुहार परिवर्तन हुँदैमा समाज नबदलिने भन्दै राजनीतिक परिवर्तनका लागि सोच र प्रवृत्ति बदलिनुपर्नेमा जोड दिएका छन्।

‘अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन,’ किरातीले भनेका छन्।

उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर उत्पीडन र अनैतिकतासम्बन्धी आरोप तथा प्रश्न उठेको भन्दै उनले नैतिक जिम्मेवारी लिन सुनारलाई आग्रह गरेका हुन्।

किरातीले सांसद पदको गरिमा जोगाउन र नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्न तत्काल राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने बताएका छन्।

‘खगेन्द्रजी ! नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले ‘नयाँ’ भनेर विश्वास नै गर्न सक्छन्,’ उनले लेखेका छन्।

रास्वपा सांसद सुनारसँग सम्बन्धित विवाद सार्वजनिक भइरहेका बेला किरातीको यो अभिव्यक्ति आएको हो।

उनले आफ्नो भनाइमार्फत सार्वजनिक पदमा रहने व्यक्तिले आफूमाथि उठेका गम्भीर प्रश्नको निरुपणका लागि नैतिक जिम्मेवारी लिनुपर्ने सन्देश दिएका छन्।