काठमाण्डु– काठमाण्डु उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अभियानमा ९८ जना पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाण्डुका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।
जिल्ला प्रहरी परिसरका अनुसार विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।



प्रतिक्रिया