काठमाण्डु- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६४ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो।
नेपालले ओमानलाई जितका लागि २६४ रन बनाउनुपर्ने लक्ष्य दिएको हो। जारी लिग–२ शृङ्खलामा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
नेपालका लागि ओमानविरुद्ध पनि रोहित पौडेलले उत्कृट पारी खेले उनले ६७ बलमा ६१ रनको योगदान दिए । उता ओपनर आशिफ शेख र अन्तिम क्रमका करण केसीले व्यक्तिगत ४०/४० रनको योगदान दिए ।
नेपालका लागि वसिर अहमद र इशान पाण्डेले पनि व्यक्तिगत ३७/३७ र बनाएर टोलीलाई माथि उकास्न सहयोग गरे।
ओमानका लागि शाह फैजल, शकिल अहमद र करण सोनाभालेले समान २/२ विकेट लिन सफल भएका छन्।
विश्वकप लिग–२ मा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । एकदिवसीय मान्यता जोगाउने अभियानमा ओमानविरुद्धको खेल महत्त्वपूर्ण छ।
नेपालले यसअघिको खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानले पनि क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो।
त्यसैले नेपाल र ओमानबीचको आजको प्रतिस्पर्धा अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने दृष्टिले महत्त्वपूर्ण छ।
विश्वकप लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ भने ओमान चौथो स्थानमा रहेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरूमा जित निकाल्नु महत्त्वपूर्ण छ।
नेपालले क्यानडाविरुद्धको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको थियो। ओमानविरुद्ध पनि जित निकाल्न सके नेपालको अंकतालिकामा सुधार हुने अपेक्षा छ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछन्। पुछारका दुई टोलीले भने मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।



प्रतिक्रिया