काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गर्ने करिब पक्काजस्तै भएको छ ।
गत २ असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दा सुनार साउदीका लागि सिफारिसमा परेका थिए ।
सुनारविरुद्ध उनीबाट हिंसा र मानसिक तनावमा परेकी एकजना महिलाले उजुरी गरेकी थिइन् । त्यही उजुरीको अध्ययन र पीडितको बयानपछि समितिका सबैजना सदस्यबीच उनलाई अनुमोदन नगर्ने अनौपचारिक सहमति भएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसमेत गम्भीर अपराधमा नाम जोडिएका सुनारको नाम अनुमोदन गर्न नहुनेमा एकमत भएका छन्।
हाल अमेरिकामा रहेकी पीडित महिलाले प्रतिनिधिमार्फत् दर्ता गराएको उजुरीबारे अध्ययन गरेपछि समितिले पीडितसँग लिखित र ह्वाट्स एपमार्फत कुरा गरेको थियो ।
समिति सदस्यहरूसँगको बयानमा पीडित महिला पटकपटक भक्कानिएकी थिइन् । गिरीबहादुरका कारण आफ्नो पारिवारिक र सामाजिक जीवनमा ठूलो धक्का लागेको भन्दै महिलाले समिति सदस्यहरूसँग नैतिकहीन उनको नाम राजदूतमा अनुमोदन नगर्न रोएर आग्रह गरेकी थिइन् ।
बयानका क्रममा पीडितकी प्रतिनिधि अर्की महिला भने प्रत्यक्ष सहभागी भएकी थिइन् । उनैको मोबाइलमार्फत् समिति सदस्यहरूले पीडितसँग ह्वाट्स एपमा प्रश्न सोधेका थिए ।
पीडित महिलाका अनुसार गिरीबहादुर तर्फबाट उनकी एक छोरी पनि छिन् । महिला र गिरीबहादुर दुवै विवाहित हुन् । विवाहेत्तर सम्बन्धमा रहेका उनीहरूको छोरी जन्मिएको उजुरीबाट खुल्छ ।
गिरीबहादुरले छोरी पनि आफूबाट खोसेको भन्दै पीडित महिलामाथि पटकपटक मानसिक दबाब दिँदै आएको उजुरीका साथमा पीडितले बुझाएको अडियो र टेक्स्ट म्यासेजहरूबाट खुलेको छ।
त्यति मात्रै नभई गिरीबहादुरकी बहिनी निशासमेत दबाब दिने काममा संलग्न रहेको आरोप पीडितको छ । ती महिलाले आफ्नो दाजुबाट छोरी जन्माएको र पहिलाकै पतिको छोरी बनाएर राखेको भन्दै नेपाल झिकाएर डीएनए परीक्षण गराउने धम्की निशाले दिएको पीडितको बयानमा छ ।
‘मेरो दाइबाट छोरी चोरेर लगेको केसमा हामी पनि उजुरी गर्छौं । मेरो दाइको करिअर बिगार्नेलाई हामीले पनि छोड्छौँ त ? म पनि अमेरिकामै छु । म यहीँबाट डीएनए गराएर मेरो दाइको छोरी हो भन्ने प्रमाणित गराएरै छाड्छु’, गिरीबहादुरकी बहिनी निशाको भनाइ उद्धृत गर्दै पीडित महिलाले बयानमा भनेकी छन् ।
प्रतिनिधिमार्फत् दर्ता नम्बर-३ रहेको उजुरी ४ असोजमा समिति समक्ष दर्ता गराएपछि गिरीबहादुरले तिनैमार्फत् आफूलाई फोन सम्पर्क गर्न दबाब दिएको बयान पीडित महिलाको छ।
गिरीबहादुरले उजुरी फिर्ता नलिए पीडित र उनका परिवारका सदस्यलाई नेपाल झिकाउने तथा पीडित महिलाको नाम विश्वव्यापी गरी जिन्दगी नर्क बनाइदिने धम्कीसमेत दिएका थिए ।
‘मेरी अर्की साथीलाई फोन गरी अर्को फोन नम्बर दिएर यसमा फोन गरेर यो मेरो कुरा हो । मैले यस विषयलाई मिलाई सकेको छु भन्नुपर्ने या त गिरीबहादुर सुनारलाई मैल फोन गर्नुपर्ने’, महिलाले पठाएको लिखित बयानमा भनिएको छ, ‘यसो नगरेमा म र मेरो परिवारको सदस्यलाई नेपाल झिकाउने, मेरो नाम विश्वव्यापी बनाउने र मेरो जिन्दगी नर्क बनाइदिने धम्की मेरो साथीलाई दिएकाले म उस्तै पुरानो पीडामा परी विचलित हुन पुगेको छु ।’
पीडितले आफ्नो गोपनीयता बचाइदिन पनि संसदीय समितिसमक्ष आग्रह गरेकी छन् । पीडितका श्रीमान् अमेरिका रहेका बेला पीडित महिला र गिरीबहादुरको भेट ओशो तपोवनमा भएको थियो ।
उनीहरूबीच बिहाहेत्तर सम्बन्धबाट छोरीको जन्म भएको देखिन्छ । शिशु पेटमा आएपछि पीडित महिलाले गर्भपतन गराउन चाहेकी थिइन् । गर, गिरीबहादुरले दबाब दिएर जन्माउन लगाएका थिए ।
पीडितका पतिले घटना थाहा पाएपछि पनि छोरी स्वीकारेर दुवैलाई अमेरिका लगेपछि गिरीबहादुर विक्षिप्त बनेका थिए । त्यसबीचमा गिरीबहादुरले महिलालाई विभिन्न माध्यमबाट लगातार यातना दिँदै आएको खुलेको छ ।
गिरीबहादुरले महिलासँगको अन्तरंग भिडियो र तस्बिर पीडितका आफन्त र साथीहरूलाई पठाएको पनि खुलेको छ । महिलालाई धेरै दबाब दिएर उनले भिडियो कलमा छोरीसमेत देखाउन लगाएका थिए ।
उक्त भिडियो मोबाइलमा सेभ गरेर आफ्नी छोरी भन्दै युट्युबमा अपलोड समेत गरेको पीडितले बताएकी छन् । यस्तै गिरीबहादुरले पीडित महिलाका पतिलाई समेत फोन गरेर आफूसँगको अन्तरङ्ग सम्बन्धबारे जानकारी दिएको खुलेको छ ।



प्रतिक्रिया