शान्तिसुरक्षा कायम गर्न ७४७ स्थानीय तहसँग सम्झौता गर्‍याे प्रहरीले


काठमाडौँ– नेपाल प्रहरीले अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि मुलुकका ७५३ मध्ये ७४७ स्थानीय तहसँग सम्झौता गरेको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७५ जिल्ला समिति, ७३७ पालिका समिति, तीन हजार ९४१ वडा समिति, दुई हजार ९४६ टोल समिति र चार हजार ३५२ विद्यालय सम्पर्क समिति गठन गरिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।  नागरिक समाज, स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, विद्यालयसमेतको सहभागितामा शुरु भएको उक्त कार्यक्रमको सकारात्मक प्रतिक्रिया आउन थालेको सुवेदीले बताए।

सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने उद्देश्यले थालिएको उक्त कार्यक्रम सञ्चालनका लागि कूल १० हजार ५६ प्रहरी कर्मचारीलाई प्रशिक्षण दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रम लागू भएपछि हालसम्म प्रहरीले ९२ नाल अवैध हतियार र ८४ राउण्ड गोली बरामद गरेको छ ।

तीन हजार ७०८ फरार अभियुक्तमध्ये ९७४ जना पक्राउ परेका र एक हजार ८६५ किलो गाँजा, ३२९ किलो चरेस र ६ किलो खैरो हेरोइन बरामद गरिएको छ । यस्तै प्रहरीले १६ बिघा तथा एक हजार ४६१ रोपनी जमीनमा लगाएको गाँजा खेती नष्ट गरेको छ । उक्त कार्यक्रमअन्तर्गत घरदैलो, सार्वजनिक सुनुवाइ, खेलकूद, स्वास्थ्यलगायत विभिन्न शिविर तथा सचेतनामूलक कार्यक्रमसमेत चलाइएको प्रवक्ता सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement