रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ईयू – युरोपेली संघ (ईयू) अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताएका छन् ।

इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गरेका थिए । २८ फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु भएपछि बढेको इन्धनको मूल्य नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको हो ।

थाइल्याण्डको बैंककमा जारी अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वार्षिक बैठकका क्रममा एएफपीसँग कुरा गर्दै डोम्ब्रोभ्स्किसले रुसी डिजेल निर्यातको सम्भावित प्रभावप्रति शंका व्यक्त गरे । उनका अनुसार प्रस्तावित निर्यातको परिमाण विश्व अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्ने स्तरको छैन । साथै रुसले आवश्यक परिमाणमा डिजेल आपूर्ति गर्न सक्ने र त्यसले अमेरिकी गुणस्तर मापदण्ड पूरा गर्ने विषयमा पनि प्रश्न रहेको उनले बताए ।

डोम्ब्रोभ्स्किसले युक्रेनलाई आर्थिक सहयोग बढाउन ईयूले अन्तरराष्ट्रिय साझेदारसँग छलफल गर्ने जानकारी दिए ।

यसैबिच उनले ईयू र चीनबिचको व्यापार असन्तुलनप्रति चिन्ता व्यक्त गरे । गत वर्ष चीनसँगको ईयूको व्यापार घाटा करिब ३६० अर्ब युरो पुगेको उल्लेख गर्दै उनले व्यापार सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताए । व्यापार तनाव कम गर्ने सहमतिअन्तर्गत सन् २०२७ देखि चीनबाट आयात हुने हाइब्रिड सवारीसाधनको वार्षिक संख्या ३ लाख ५० हजारमा सीमित गरिने जनाइएको छ ।

फ्रान्समा सरकारी ऋणपत्रको प्रतिफल बढिरहेको विषयमा पनि उनले चिन्ता व्यक्त गरे । बजेटसम्बन्धी अनिश्चितता हटाउन फ्रान्सले प्रस्तावित बजेट पारित गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ ।

डोम्ब्रोभ्स्किसका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीतिको दबाब लामो समयसम्म कायम रहन सक्छ । त्यसैले युरोपेली आयोगले सन् २०२७ का लागि मुद्रास्फीति पूर्वानुमान बढाउने सम्भावना रहेको उनले बताए ।