उदयपुरको धानखेतमा मृत भेटियो ‘सानो दारे’, नेपालमा हात्ती असुरक्षित बन्दै गएका हुन् ?

उदयपुरको धानखेतमा मृत भेटियो ‘सानो दारे’, नेपालमा हात्ती असुरक्षित बन्दै गएका हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर- नेपालमा जंगली हात्तीको सुरक्षा र संरक्षणमाथि फेरि गम्भीर प्रश्न उठेको छ। उदयपुरको बेलका नगरपालिका–१ स्थित धानबारीमा मंगलबार दिउँसो ‘सानो दारे’ नामले चिनिने वयस्क भाले हात्ती मृत फेला परेपछि वन्यजन्तु संरक्षणको अवस्था र हात्तीको सुरक्षाबारे चिन्ता बढेको हो।

गत ३ असोजमा चितवन वन्यजन्तु आरक्षमा आश्रय लिइरहेको चर्चित रोनाल्डो हात्ती करेन्ट लागेर मरेलगत्तै उदयपुरमा अर्को हात्ती मृत भेटिएको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीस्थित किसानको धानबारीमा उक्त हात्ती मृत भेटिएको हो।

स्थानीय क्षेत्रमा ‘सानो दारे’ नामले परिचित उक्त हात्ती पछिल्लो एक वर्षभन्दा बढी समयदेखि कोशीटप्पु आरक्ष आसपासकै क्षेत्रमा बस्दै आएको थियो। यो हात्ती करिब २० देखि २५ वर्षको बयस्क थियो ।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठका अनुसार वन क्षेत्रनजिकै धानबारीमा हात्ती मृत अवस्थामा भेटिएको हो। मृत्युको कारण पत्ता लगाउन पशु चिकित्सकसहितको टोली खटेको छ।

शव परीक्षण र आवश्यक अनुसन्धानपछि मात्रै हात्तीको मृत्युको कारण खुल्ने वन कार्यालयले जनाएको छ। प्रारम्भिक अनुमानका आधारमा मृत्युको कारणलाई प्राकृतिक भन्न सकिए पनि परीक्षणको निष्कर्ष नआएसम्म त्यसलाई पुष्टि भएको तथ्य मान्न सकिँदैन।

हात्तीको मृत्यु, संरक्षण व्यवस्थामाथि प्रश्न

नेपालमा जंगली हात्तीको मृत्युका घटनाले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण, प्राकृतिक बासस्थानको संरक्षण र वन्यजन्तुको नियमित निगरानी प्रभावकारी छ कि छैन भन्ने प्रश्न उठाउँदै आएका छन्।

विशेषगरी मानव बस्ती र खेतीयोग्य जमिनसँग जोडिएका वन क्षेत्रमा हात्तीको आवागमन हुँदा द्वन्द्वको जोखिम बढ्ने गर्छ। बासस्थान खुम्चिनु, परम्परागत आवागमन मार्ग अवरुद्ध हुनु र मानिस तथा वन्यजन्तुबीचको दूरी घट्नुले संरक्षण चुनौती थप जटिल बनाउन सक्छ।

तर ‘सानो दारे’ को मृत्यु पनि मानव–हात्ती द्वन्द्व, विषादी, करेन्ट वा अन्य कुनै कारणले भएको हो भन्ने निष्कर्षमा पुग्न अझै समय लाग्ने अवस्था छ।

के नेपाल हात्तीका लागि असुरक्षित बन्दै गएको हो?

पछिल्लो समय नेपालमा एकपछि अर्को हात्ती मृत भेटिन थालेका छन्। चितवनपछि कोशी टप्पुमा आश्रय लिएको अर्को हात्ती पनि मरेको छ। यसअघि चितवनमै २०८१ सालमा मकुना नामको हात्तीलाई गोली हानेर मारिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जकै अनुसार मकुनामाथि ६ राउन्ड गोली हानिएको थियो । उता २०७८ सालमा कोशी टप्पुमा मकुना नामकै हात्ती मृत भेटिएको थियो। सुनसरी र सप्तरी क्षेत्रमा आतंक मच्चाउँदै आएको ‘मकुना’ हात्ती मरेको अवस्थामा फेला परेको थियो। उक्त हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किलाेमिटर उत्तरमा स्थानीयको धानबारीमा मृत भेटिएको थियो।

यति घटना हुँदा हुँदै पनि नेपाललाई समग्रमा हात्तीका लागि असुरक्षित देश घोषणा गर्न मिल्दैन। मृत्युको कारण नखुलेसम्म संरक्षण व्यवस्थाको कमजोरी नै घटनाको प्रत्यक्ष कारण हो भन्नु पनि हतार हुनेछ। तर लगातार हात्तीको ज्यान जाने अवस्था नेपाल सरकारको व्यवस्थापनमाथि भने प्रश्न उठाएको छ।

यस्ता घटनाको कारण पत्ता लगाउन नसक्ने, सम्भावित जोखिम रोक्न नसक्ने र वन्यजन्तुको सुरक्षा सुनिश्चित गर्न नसक्ने अवस्था दोहोरिएमा संरक्षण प्रणालीमाथि प्रश्न उठ्छ।

उदयपुरमा ‘सानो दारे’ को मृत्यु प्राकृतिक कारणले भएको हो वा मानवीय गतिविधिसँग जोडिएको छ भन्ने कुरा अनुसन्धानले स्पष्ट पार्नुपर्छ। यदि मानवीय गतिविधि संलग्न भएको प्रमाण भेटिएमा दोषीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्छ।

कोशीटप्पु आरक्षनजिकै लामो समयदेखि बस्दै आएको हात्ती मृत भेटिनु वन्यजन्तु संरक्षण निकायका लागि सामान्य घटनामात्र हुनु हुँदैन। मृत्युको कारण पत्ता लगाउने, घटनास्थलका प्रमाण सुरक्षित राख्ने र अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्ने जिम्मेवारी सम्बन्धित निकायको हो।

नेपालमा हात्तीको संरक्षण केवल आरक्ष र निकुञ्जको सीमाभित्र सीमित विषय होइन। वन्यजन्तुको आवागमन मार्ग सुरक्षित राख्ने, मानव–हात्ती द्वन्द्व घटाउने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने र हात्तीको अस्वाभाविक मृत्युको निष्पक्ष अनुसन्धान गर्ने काम उत्तिकै महत्त्वपूर्ण छन्।

अहिले मुख्य प्रश्न नेपाललाई ‘हात्तीका लागि असुरक्षित देश’ घोषणा गर्ने भन्दा हात्ती किन मरिरहेका छन् ? यस्ता घटना रोक्न राज्यले के गरिरहेको छ भन्ने हो। ‘सानो दारे’ को मृत्युको वास्तविक कारण सरकारले पत्ता लगाएर हत्या हो भने उचित कारबाही गर्न वातावरणविद्ले दबाब दिनु आवश्यक छ।