काठमाण्डु- चीनसँग सीमा जोडिएको सङ्खुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले दुर्गम क्षेत्रमा प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेसँगै स्थानीय बासिन्दाले यसअघि लघु जलविद्युत्मा निर्भर रहनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो।
राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु भएपछि स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल र घरेलु उद्योग लाभान्वित हुनेछन्। विद्युत् आपूर्ति थप नियमित, भरपर्दो र पर्याप्त हुने अपेक्षा प्राधिकरणको छ।
गाउँपालिका कार्यालय र अस्पतालमा थ्रि फेज विद्युत्
खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्रि फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ।
राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत्को उपलब्धता र विश्वसनीयता बढाउनुका साथै स्वास्थ्य सेवा सञ्चालन, सरकारी कामकाज र स्थानीय आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सङ्खुवासभाका ९५ प्रतिशत घरधुरीमा विद्युत् पहुँच, चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्य
विशेषगरी स्वास्थ्य संस्था, कुटानीपिसानी मिल र घरेलु उद्योगमा नियमित विद्युत् उपलब्ध हुँदा सेवा सञ्चालन सहज हुने र स्थानीय उत्पादनमूलक गतिविधि विस्तार गर्न मद्दत पुग्नेछ।
किमाथाङ्कासम्म बिजुली पुर्याउने लक्ष्य
हटियामा विद्युत् पुर्याएसँगै प्राधिकरणले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाकै किमाथाङ्कासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया पनि अघि बढाएको छ।
प्राधिकरणका अनुसार किमाथाङ्कासम्म विद्युत् पुर्याउन ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ। चालु आर्थिक वर्षभित्रै त्यहाँ राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गर्ने लक्ष्य राखिएको छ।
किमाथाङ्कासम्म प्रसारण लाइन विस्तार भएमा भौगोलिक रूपमा विकट र सीमावर्ती क्षेत्रमा विद्युत् पहुँच विस्तार हुनुका साथै स्थानीय बासिन्दा र सरकारी सेवाप्रदायक संस्थालाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
सङ्खुवासभाका ९५ प्रतिशत घरधुरीमा विद्युत्
नेपाल विद्युत् प्राधिकरणका अनुसार सङ्खुवासभा जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ।
दुर्गम तथा भौगोलिक रूपमा कठिन बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले काम अघि बढाइरहेको छ।
राष्ट्रिय प्रसारण प्रणालीको विस्तारले स्थानीय जनताको जीवनस्तर सुधार, स्वास्थ्य तथा शिक्षा सेवाको प्रभावकारी सञ्चालन र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया