काठमाण्डु- गोरखाको चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा यही आइतबार (असोज २५) आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रको विशाल पहिरो, हिमपहिरो र त्यससँगै बगेको विशाल गेग्रानको थुप्रो रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ।
खानी तथा भूगर्भ विभागको प्राविधिक आकलनअनुसार असोज २५ गते बिहान करिब ४:२० बजे चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोलाको सिरानमा ठूलो पहिरो गएको थियो।
चामर हिमाल र स्येराङ्गी हिमालबीचको उच्च हिमाली क्षेत्रमा भएको उक्त घटनामा करिब ६ हजार मिटर उचाइबाट हिमपहिरो खसेको र करिब ५ हजार ५०० मिटर उचाइको हिमनदीको हिउँ तथा गेग्रानसमेत बगेको देखिएको छ।
प्रतिवेदनअनुसार उक्त क्षेत्रमा तुलनात्मक रूपमा कमजोर पत्रे चट्टान रहेको छ। पहिरो जानुअघि र त्यसपछि पनि आसपासका क्षेत्रमा साना पहिरो गएको देखिएको छ।
स्यार खोला थुनिँदै खुल्दा पटक-पटक बाढी
उङ्दिलुङ खोलाको सिरानबाट दक्षिणतर्फ बगेको हिउँ, पानी, माटो र गेग्रानको ठूलो प्रवाहले खोलाको साँघुरो भागमा ठूलो परिमाणमा गेग्रान थुपारेको थियो।
करिब २ हजार मिटर उचाइमा रहेको उङ्दिलुङ खोला र स्यार खोलाको दोभानमा गेग्रान जम्मा हुँदा स्यार खोलाको पानीको बहाव अवरुद्ध भएको र पुनः खुल्ने प्रक्रिया दोहोरिएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै प्रक्रिया स्यार खोला र बुढीगण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने आकलन गरिएको छ। खोलाको बहाव थुनिने र अचानक खुल्ने प्रक्रियाले तल्लो क्षेत्रमा पटक–पटक बाढी आएको देखिएको छ।
तर बाढीको उच्च सतह सिर्जना हुनुमा स्यार खोला थुनिएर जम्मा भएको पानीभन्दा उङ्दिलुङ खोलाबाट आएको विशाल परिमाणको गेग्रानको भूमिका बढी महत्त्वपूर्ण रहेको प्रतिवेदनको निष्कर्ष छ।

सल्लेरीमा २५ मिटरसम्म अग्लो बाढी
प्राविधिक प्रतिवेदनअनुसार लेदोसहितको बाढी पहिलोपटक बिहान करिब ४:३० बजे सल्लेरी पुगेको थियो। त्यसपछि आएको सबैभन्दा ठूलो बाढीको सतहले बिहान करिब ६:३० बजे सल्लेरीस्थित जलविद्युत् आयोजनाको क्याम्प बगाएको थियो।
उक्त स्थानमा बाढीको सतह करिब २० देखि २५ मिटरसम्म पुगेको आकलन गरिएको छ।
बाढीको उच्च सतहका कारण तल्लो क्षेत्रमा रहेका संरचनामा ठूलो क्षति पुगेको देखिएको छ। विशेषगरी जगत क्षेत्रका केही भवन तथा सोती खोला र बुढीगण्डकी नदीमा रहेका पक्की पुलमा मुख्य क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
६ हजार मिटर उचाइबाट हिउँ, पानी र गेग्रान खस्यो, स्यार खोला थुनिँदै खुल्दा पटक–पटक बाढी आएको प्राविधिक प्रतिवेदनको निष्कर्ष
ठूलो बाढी आउनुभन्दा करिब एक घण्टाअघि स्यार खोलाको बहाव रोकिएको थियो। स्थलगत अवलोकनका क्रममा स्यार खोलाको माथिल्लो क्षेत्रमा करिब डेढ किलोमिटरसम्म पानी जम्मा भएको देखिएको छ। मुख्य बाढीपछि पनि साना आकारका थप बाढी आएका थिए।
लेदोको मात्रा बढी हुँदा विनाशकारी
यस घटनाबाट आएको बाढीमा बालुवा तथा साना–ठूला ढुङ्गाको तुलनामा माटोको मात्रा बढी रहेको प्रतिवेदनले औँल्याएको छ।
माटोको मात्रा बढी भएकाले बाढीमा सामान्य पानीको बहावभन्दा बाक्लो र बिस्तारै बग्ने लेदोको प्रवाह अर्थात् ‘भिस्कस मड फ्लो’ को विशेषता देखिएको थियो।
यसको प्रमुख कारण पहिरोको उद्गमस्थलमा रहेका पत्रे चट्टान र गेग्रानमा माटोको मात्रा तुलनात्मक रूपमा बढी हुनु रहेको प्राविधिक आकलन छ।
यस्तो प्रवाहले ठूलो परिमाणमा माटो, ढुङ्गा र अन्य गेग्रान एकैपटक बगाएर ल्याउन सक्छ। यसले नदीको बहाव अवरुद्ध गर्नुका साथै पुल, भवन र जलविद्युत् आयोजनाजस्ता संरचनामा गम्भीर क्षति पुर्याउन सक्छ।
पहिरोबाट ३.५ म्याग्निच्युडको भूकम्प बराबरको शक्ति
खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलनअनुसार उक्त विशाल पहिरोका कारण करिब ३.५ म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको देखिएको छ।
यो पहिरोबाट उत्पन्न शक्तिसम्बन्धी प्रारम्भिक आकलन हो। यसलाई उक्त क्षेत्रमा ३.५ म्याग्निच्युडको भूकम्प गएको प्रमाणका रूपमा बुझ्न मिल्दैन।
समग्रमा, उच्च हिमाली क्षेत्रमा भएको हिमपहिरो र विशाल पहिरोबाट सुरु भएको गेग्रानको प्रवाह, खोलामा पानी थुनिने र अचानक खुल्ने प्रक्रिया तथा माटोको उच्च मात्रा बुढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीका प्रमुख कारक देखिएका छन्।
घटनाको जोखिम मूल्याङ्कन, क्षतिको थप विवरण र सम्भावित जोखिम न्यूनीकरणका लागि विस्तृत भूगर्भीय अध्ययन महत्त्वपूर्ण हुनेछ।


प्रतिक्रिया