रास्वपा सांसद बोहोराले सुनारलाई भने : नाम फिर्ताको कुरा छाड्नुस्, तपाईंले राजदूतमा आवेदन नै दिनु हुँदैनथ्यो

रास्वपा सांसद बोहोराले सुनारलाई भने : नाम फिर्ताको कुरा छाड्नुस्, तपाईंले राजदूतमा आवेदन नै दिनु हुँदैनथ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठ्ने क्रम रोकिएको छैन।

महिला हिंसा, वैवाहिक सम्बन्धबाहिर प्रेम सम्बन्ध र उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठाउँदै सांसद पुनम अग्रवाल र दीपक बोहराले सुनारको राजदूत पदका लागि उपयुक्ततामाथि गम्भीर प्रश्न गरेका छन्।

बुधबार भएको संसदीय विशेष सुनुवाइमा सांसदहरूले सुनारविरुद्ध परेका उजुरी, अडियो र भिडियो सामग्री तथा स्वयं सुनारले दिएको जवाफलाई आधार बनाएर प्रश्न उठाएका हुन्।

अग्रवालले उजुरीमा उठेका विषयलाई बेवास्ता गर्न नहुने बताउँदै सुनारको उच्च नैतिक चरित्रमाथि प्रश्न गरिन्। बोहराले भने साउदी अरेबियालाई राम्रो राजदूत आवश्यक रहेको उल्लेख गर्दै सुनारले राजदूत पदका लागि आवेदन नै दिन नहुने टिप्पणी गरे।

यसअघि सांसद वर्षमान पुन, पद्मा अर्याल र प्रेम दंगालले पनि सुनारमाथि लागेका आरोपको गम्भीरताबारे प्रश्न उठाएका थिए। पुनले त उनलाई सिफारिस भएको नाम फिर्ता लिनसमेत सुझाव दिएका थिए। तर सुनारले आफूमाथिका आरोप अस्वीकार गर्दै नाम फिर्ता नलिने अडान राखेका छन्।

पुनमको प्रश्न : ‘उच्च नैतिक चरित्र भएको कसरी पुष्टि हुन्छ?’

सांसद पुनम अग्रवालले सुनारविरुद्ध समितिमा प्राप्त उजुरीमा अडियो र भिडियो सामग्रीसमेत रहेको उल्लेख गर्दै सुनारकै भनाइले पनि उठेका प्रश्नलाई थप गम्भीर बनाएको बताइन्।

सुनारले यसअघि आफू र सम्बन्धित महिलाबीच १३ वर्षअघि प्रेम सम्बन्ध रहेको स्वीकार गरेका थिए। त्यसैलाई उल्लेख गर्दै अग्रवालले विवाहित व्यक्तिको अर्को महिलासँगको सम्बन्धबारे प्रश्न उठाइन्।

‘मेरो छोरा छ, बुहारी पनि छ र १३ वर्षपहिले प्रेम थियो पनि भन्नुभयो,’ अग्रवालले सुनारको भनाइ स्मरण गर्दै भनिन्। उनले सुनारविरुद्ध आएका उजुरीलाई सामान्य रूपमा लिन नहुने बताउँदै संसदीय सुनुवाइ समितिले निष्पक्ष रूपमा निष्कर्ष दिनुपर्ने धारणा राखिन्।

‘यो समिति निष्पक्ष तरिकाले जाने सुनुवाइ समिति हो। प्रश्न यति गम्भीर छ कि हामीले निष्कर्ष दिनुपर्छ,’ उनले भनिन्।

अग्रवालले उजुरीमा उठेका विषयलाई बेवास्ता गरिए त्यसले समस्या निम्त्याउने चेतावनीसमेत दिइन्। सुनारलाई आफ्नो निर्णयबारे पुनर्विचार गर्न समय लिन सक्ने बताउँदै उनले नैतिक चरित्रको प्रश्नमा स्पष्ट जवाफ आवश्यक रहेको उल्लेख गरिन्।

‘जुन हिसाबका उजुरी छन्, त्यसलाई नजरअन्दाज गरियो भने समस्या हुन्छ। अझै पनि सोच्न समय लिनुहुन्छ भने लिनुस्। तर जुन किसिमका गम्भीर उजुरी आएका छन्, तिनले तपाईंमाथि प्रश्न उठाएका छन्,’ अग्रवालले भनिन्।

उनले सुनारको व्यवहारलाई उच्च नैतिक चरित्रको मापदण्डसँग जोड्दै भनिन्, ‘यो कतैबाट पनि तपाईं उच्च नैतिकता भएको व्यक्ति हुनुहुन्छ भन्ने पुष्टि हुँदैन।’

दीपक बोहराको टिप्पणी : ‘राजदूतमा आवेदन नै दिनु हुँदैनथ्यो’

सांसद दीपक बोहराले पनि सुनारविरुद्धका उजुरी र समितिमा भएका छलफलबारे उल्लेख गर्दै साउदी अरेबियाले नेपालको प्रतिनिधित्व गर्न राम्रो राजदूत अपेक्षा गर्ने बताए।

उनले समितिका सांसदहरूले सुनारको कुरा सुनेको र उजुरीसँग सम्बन्धित सामग्रीबारे छलफल गरेको उल्लेख गरे।

‘हामीले संसदीय समितिका सांसदहरूले उहाँका कुरा सुनेका छौँ। कुरा पनि गरेका छौँ। नभएको भए पेनड्राइभ हुँदैन,’ बोहराले भने।

उनले यसअघि वर्षमान पुनले सुनारलाई नाम फिर्ता लिन दिएको सुझावभन्दा पनि अगाडि बढेर टिप्पणी गरे।

‘साउदीले त राम्रो राजदूत मागेको हो नि। वर्षमानजीले भन्नुभयो, क्विट गरिदिनुस्। म त्योभन्दा अगाडि भन्छु। किन अप्लाई गरेको हो? अप्लाई नै नगरेको भए हुन्थ्यो। तपाईंले राजदूतका लागि निवेदन नै दिनु हुँदैन थियो,’ बोहराले भने।

बोहराको यो टिप्पणीले सुनारको नियुक्ति प्रक्रियामा उनको नैतिक चरित्र र राजदूतका लागि उपयुक्तताको प्रश्नलाई सांसदहरूले कति गम्भीरताका साथ उठाइरहेका छन् भन्ने देखाएको छ।

उता सुनारले भने आफूमाथि लागेका महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्। उनले सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको स्वीकार गरे पनि त्यसलाई अहिले राजदूत नियुक्तिसँग जोडेर उचालिएको दाबी गरेका छन्।

उनले आफूले महिला हिंसा नगरेको, जर्मनीमा अनुवादकका रूपमा गएर ओभरस्टे भएको वा डिपोर्ट भएको भन्ने आरोप गलत रहेको बताएका छन्। आफूविरुद्धका आरोप सुनियोजित भएको दाबी गर्दै उनले राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने स्पष्ट पारेका छन्।

सुनारले आफूले नेपालमा पाँच हजार महिलालाई तालिम दिएको र दलित समुदायका विषयमा पीएचडी गरिरहेको पनि बताएका छन्।