काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर प्रश्न उठेका छन्।
महिला हिंसा, १३ वर्षअघिको प्रेम सम्बन्ध र उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठाउँदै सांसदहरूले उनलाई राजदूतका लागि सिफारिस भएको नाम आफैँ फिर्ता लिन सुझाव दिएका छन्।
बुधबार भएको संसदीय विशेष सुनुवाइमा सांसद वर्षमान पुन, पुनम अग्रवाल, दीपक बोहरा, पद्मा अर्याल र प्रेम दंगाललगायतले सुनारमाथि उठेका प्रश्नको गम्भीरता औँल्याएका थिए।
सांसदहरूले उजुरी, अडियो-भिडियो सामग्री र सुनारले स्वयं दिएको जवाफलाई समेत उल्लेख गर्दै राजदूत नियुक्तिका लागि आवश्यक नैतिक मापदण्डबारे प्रश्न उठाएका हुन्।
तर सुनारले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै नाम फिर्ता नलिने अडान राखेका छन्। उनले सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको स्वीकार गरे पनि महिला हिंसा गरेको आरोपलाई झुटो र आफूविरुद्धको अभियानलाई सुनियोजित भनेका छन्।
वर्षमान पुन : ‘अस्वीकृत गर्ने अवस्था नआओस्, आफैँ नाम फिर्ता लिनुस्’
नेकपा सांसद वर्षमान पुनले सुनारविरुद्ध परेको उजुरी र उजुरीकर्ताको भनाइ समितिले सुनेको उल्लेख गर्दै उनलाई नाम फिर्ता लिन सुझाव दिए।
‘हामीकहाँ आएको उजुरी, उजुरीकर्ताको कुरा लाइभ नै सुनेको हो। उहाँको कुरा सुन्न नसकिने भन्ने भएन। तपाईंले कन्फिडेन्ससाथ कुरा राख्नुभयो, तर तपाईंको कन्फिडेन्सजस्तो अवस्था छैन,’ पुनले भने।
उनले उजुरीमा महिलाको अस्मिता, पारिवारिक सम्बन्ध र परिवारका सदस्यलाई दिइएको भनिएको यातनासम्बन्धी विषयसमेत उठेको बताए। सुनारको संगत र व्यवहारबारे पनि प्रश्न उठेको उनको भनाइ थियो।
‘यस्तो गलत कुरामा अडिन राम्रो हुँदैन। मैले जवाफ पनि मागिरहेको छैन। तपाईं नाम फिर्ता लिनुस् भन्ने हो। उच्च नैतिक चरित्र भएको मान्छेलाई मात्रै राजदूतमा पठाउने तथ्य छ,’ पुनले भने।
उनले आवश्यक परे उजुरीसँग सम्बन्धित अडियो-भिडियो सामग्री सुनाउन सकिने बताउँदै सुनारलाई पुनर्विचार गर्न आग्रह गरे।
‘यस पटक साउदी अरेबियाको राजदूतमा नाम फिर्ता लिइदिनुभयो भने राम्रो हुन्छ। हामीले तपाईंलाई अयोग्य बनाउने, रिजेक्ट गर्ने कुरा हुँदैन,’ पुनले भने।
महिला हिंसाको विषयमा सम्झौता गर्न नसकिने बताउँदै उनले दलित तथा सीमान्तकृत समुदायमाथिको पीडा र महिलामाथिको हिंसालाई बेवास्ता गर्न नमिल्ने धारणा राखे।
‘आफैँले नाम फिर्ता लिनुहुन्छ भन्ने हाम्रो कुरा हो। मेरो सुझाव पनि तपाईंलाई त्यही हो,’ पुनले सुनारलाई भने।
दीपक बोहरा : राजदूतमा आवेदन नै दिनु हुँदैनथ्यो
सांसद दीपक बोहराले सुनारको जवाफ र समितिमा भएका छलफलबारे उल्लेख गर्दै साउदी अरेबियाले राम्रो राजदूत अपेक्षा गर्ने बताए।
‘हामीले संसदीय समितिका सांसदहरूले उहाँका कुरा सुनेका छौँ। कुरा पनि गरेका छौँ। नभएको भए पेनड्राइभ हुँदैन। साउदीले त राम्रो राजदूत मागेको हो नि,’ बोहराले भने।
उनले पुनले नाम फिर्ता लिन दिएको सुझावभन्दा पनि कडा टिप्पणी गरे। ‘वर्षमानजीले भन्नुभयो, क्विट गरिदिनुस्। म त्योभन्दा अगाडि भन्छु। किन अप्लाई गरेको हो? अप्लाई नै नगरेको भए हुन्थ्यो। तपाईंले राजदूतका लागि निवेदन नै दिनु हुँदैनथ्यो,’ बोहराले भने।
बोहराको टिप्पणीले सुनारको नैतिक चरित्र र राजदूत पदका लागि उपयुक्ततामाथि सांसदहरूले उठाएको प्रश्नलाई थप तीव्र बनाएको छ।
पुनम अग्रवाल : उच्च नैतिक चरित्र भएको कसरी पुष्टि हुन्छ?
सांसद पुनम अग्रवालले सुनारविरुद्ध प्राप्त उजुरी, अडियो-भिडियो सामग्री र सुनारकै भनाइलाई उल्लेख गर्दै समितिले यस विषयमा निष्कर्ष निकाल्नुपर्ने बताइन्।
सुनारले आफू र सम्बन्धित महिलाबीच १३ वर्षअघि प्रेम सम्बन्ध रहेको स्वीकार गरेको प्रसंग उल्लेख गर्दै अग्रवालले वैवाहिक सम्बन्ध र अर्को महिलासँगको सम्बन्धबारे प्रश्न उठाइन्।
‘मेरो छोरा छ, बुहारी पनि छ र १३ वर्षपहिले प्रेम थियो पनि भन्नुभयो,’ अग्रवालले सुनारको भनाइ उद्धृत गर्दै भनिन्।
उनले उजुरीमा उठेका विषयलाई बेवास्ता गरिए समस्या हुने बताउँदै सुनारलाई आफ्नो निर्णयबारे पुनर्विचार गर्न समय लिन आग्रह गरिन्।
‘यो समिति निष्पक्ष तरिकाले जाने सुनुवाइ समिति हो। प्रश्न यति गम्भीर छ कि हामीले निष्कर्ष दिनुपर्छ,’ अग्रवालले भनिन्।
उनले सुनारको व्यवहारलाई उच्च नैतिक चरित्रको मापदण्डसँग जोड्दै प्रश्न गरिन्, ‘यो कतैबाट पनि तपाईं उच्च नैतिकता भएको व्यक्ति हुनुहुन्छ भन्ने पुष्टि हुँदैन।’
सुनारको प्रतिवाद : १३ वर्षअघिको सम्बन्ध अहिले किन उचालियो?
सांसदहरूको प्रश्नको जवाफ दिँदै सुनारले आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरे। उनले सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको स्वीकार गरे।
‘त्यसबेला हाम्रो प्रेम थियो। उहाँ १३ वर्षअघि नै अमेरिका जानुभयो। म नेपालमै छु। अहिले राजदूत हुन लाग्दा १३ वर्षअघिको कुरा निकाल्नु कति जायज हो?’ सुनारले प्रश्न गरे।
उनका अनुसार सम्बन्ध १३ वर्षअघि नै समाप्त भएको थियो र अहिले आफू राजदूतमा सिफारिस भएपछि पुरानो विषय उचालिएको हो।
‘हामीबीच १३ वर्षअघि प्रेम थियो, अहिले त्यो सकिएको छ। हामीबीच विवाद हुँदा फोनमा भनाभन भएको हो। तर अहिले म राजदूतमा सिफारिस हुँदा त्यो कुरा किन उचालिएको हो, थाहा छैन,’ उनले भने।
सुनारले आफूमाथिका आरोप सुनियोजित भएको दाबी गर्दै राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने स्पष्ट पारे।
‘म कहिल्यै ट्रान्सलेटर भएर जर्मनी गएको छैन। महिला हिंसाको आरोप पनि झुटो हो। मैले कुनै हिंसा गरेको छैन,’ उनले भने।
उनले आफूविरुद्ध कुनै अदालतले कसुरदार ठहर नगरेको र प्रहरीले पक्राउ नगरेको दाबीसमेत गरे।
‘म आफू राजदूतबाट नाम फिर्ता लिन्न। ममाथि लगाइएका आरोप सुनियोजित हुन्,’ सुनारले भने।
नियुक्तिको मापदण्डमा नैतिक चरित्रको प्रश्न
सुनारको सुनुवाइमा उठेका प्रश्नले राजदूत नियुक्तिमा उच्च नैतिक चरित्रको मापदण्ड र संसदीय सुनुवाइको भूमिकालाई फेरि चर्चामा ल्याएको छ।
राजदूत विदेशमा नेपालको प्रतिनिधित्व गर्ने कूटनीतिक पद भएकाले प्रस्तावित व्यक्तिको योग्यता, अनुभव र नैतिक चरित्रसम्बन्धी प्रश्न नियुक्ति प्रक्रियाका महत्त्वपूर्ण पक्ष हुन्।
सांसदहरूले सुनारमाथि लागेका आरोप गम्भीर रहेको भन्दै नाम फिर्ता लिन सुझाव दिएका छन्। सुनारले भने आरोप अस्वीकार गर्दै आफ्नो अडान कायम राखेका छन्।


प्रतिक्रिया