मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम संसदीय समितिबाट अस्वीकृत

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम संसदीय समितिबाट अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले बुधबार अस्वीकृत गरेको छ ।

समिति बैठकमा खरेलको नाममाथि प्राप्त उजुरीमाथि छलफल गरेर नामको अनुमोदन अस्वीकृत गरिएको हो ।

खरेलमाथि आर्थिक लेनदेन, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र जग्गासम्बन्धी विवादका आरोप थिए । संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले उनीमाथि प्रश्न उठाएपछि उनको सुनुवाइ रोकिएको थियो ।

खरेलमाथि झापाका स्थानीयसँग अनुदान उपलब्ध गराइदिने भन्दै पैसा लिएको र राजदूतमा सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको आरोप थियो । म्यानपावर व्यवसायीसँग राजदूत बनेपछि काम गरिदिने आश्वासनमा रकम लिएको र व्यवसायीसँग सम्बन्धित गाडी प्रयोग गरेको भन्ने आरोप पनि उजुरीमा उल्लेख गरिएको थियो ।

उजुरीमा म्यानपावर व्यवसायी विजय मिश्रको एड्भेन्चर ओभरसिजसँग करिब २ करोड रुपैयाँको कथित लेनदेन तथा बा२०च ५३९ नम्बरको टोयोटा आरएभी–४ गाडी प्रयोग गरेको विषयसमेत उठाइएको थियो ।

त्यसैगरी योग महासंघ नेपालमा महासचिवका रूपमा काम गर्दा आर्थिक दायित्व र बक्यौतासम्बन्धी अनियमितता भएको तथा पोखरामा सार्वजनिक वन क्षेत्रको जग्गा मिलाइदिने भन्दै ठूलो रकम लिएको आरोप पनि उनीमाथि लगाइएको थियो । जनकपुर क्षेत्रमा जग्गासम्बन्धी अनियमितताको आरोपसमेत उजुरीमा समेटिएको थियो ।