काठमाण्डु– चालु आवको भदौ महिनामा २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ ।
चालु आवको दुई महिना (साउन र भदौ)मा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५१ हजार १३६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ थियो ।


प्रतिक्रिया