काठमाण्डु– आईसीटी कम्पनी ह्वावेले नेपालमा एफ५जी र कृत्रिम बौद्धिकता (एआई) मा आधारित डिजिटल रूपान्तरणलाई तीव्रता दिने उद्देश्यले ‘ह्वावे नेपाल आईएसपी इभेन्ट २०२६’ आयोजना गरेको छ।
‘एफ५जीको विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा अग्रणी इन्टरनेट सेवा प्रदायक (आईएसपी), आईसीटी उद्यम तथा क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो। कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, एआई प्रविधि, बौद्धिक नेटवर्क र डिजिटल पूर्वाधारमा उपलब्ध अवसरबारे छलफल गरिएको थियो।
कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले नेपालको डिजिटल इकोसिस्टम नयाँ चरणमा प्रवेश गरिरहेको बताए। उनले कनेक्टिभिटी आर्थिक वृद्धि, नवप्रवर्तन र डिजिटल समावेशिताको आधार बनिरहेको उल्लेख गर्दै इन्टरनेट सेवा प्रदायकले परम्परागत इन्टरनेट सेवाभन्दा अगाडि बढेर बौद्धिक नेटवर्क, एआईमा आधारित सञ्चालन प्रणाली र नयाँ व्यावसायिक मोडेल अपनाउनुपर्ने बताए।
ह्वावेले नवीन प्रविधि, विश्वव्यापी अनुभव र उद्योगका उत्कृष्ट अभ्यासमार्फत नेपालको आईएसपी उद्योगलाई रूपान्तरण गर्न सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा ह्वावे ओभरसिज आईएसपी बिजनेस युनिटका प्रमुख सञ्चालन अधिकृत लरेन्स वुले एआईले इन्टरनेट सेवा प्रदायकको व्यवसायमा पारिरहेको प्रभावबारे प्रस्तुति दिएका थिए। उनले उच्च कार्यसम्पादनयुक्त नेटवर्क, कम्प्युटिङ स्रोत र नयाँ डिजिटल सेवाको माग बढ्दै गएको उल्लेख गर्दै नेपालमा एआईसम्बन्धी नयाँ व्यवसाय विस्तारको सम्भावना रहेको बताए।
त्यस्तै, ह्वावे एपीएसीका अप्टिकल निर्देशक एन्डी वुले ‘होम नेटवर्क प्लस एक्स’ रणनीतिबारे जानकारी दिँदै भिडियो सर्भिलेन्स एज अ सर्भिस (भीएसएएएस) र वाइफाइ एज अ सर्भिस (डब्लुएएएएस) लाई नेपाली इन्टरनेट सेवा प्रदायकका लागि सम्भावित व्यावसायिक अवसरका रूपमा प्रस्तुत गरे। उनका अनुसार प्रिमियम होम कनेक्टिभिटी र मूल्य अभिवृद्धि सेवाले ग्राहकको अनुभव सुधार गर्नुका साथै आम्दानीका नयाँ स्रोत सिर्जना गर्न सक्छन्।
ह्वावे एपीएसी आईएसपीका प्रमुख प्राविधिक अधिकृत डेभिड हुले एआईको युगमा परम्परागत इन्टरनेट सेवा प्रदायकलाई व्यवस्थित सेवा प्रदायक (एमएसपी) मा रूपान्तरण गर्ने सम्भावनाबारे चर्चा गरे। उनले एआई टोकन सेवा, मोडल एज अ सर्भिस र जीपीयू एज अ सर्भिसलगायत सेवाका साथै भण्डारण तथा नेटवर्क पूर्वाधार स्तरोन्नतिका अवसरबारे जानकारी दिए।
यस्ता सेवाले इन्टरनेट सेवा प्रदायकलाई व्यवसाय विविधीकरण गर्न र बौद्धिक डिजिटल समाधान उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ थियो।
नेपालमा २७ वर्षदेखि उपस्थिति जनाउँदै आएको ह्वावेले स्थानीय साझेदार, इन्टरनेट सेवा प्रदायक र उद्योगका सरोकारवालासँग सहकार्य जारी राख्ने जनाएको छ। कम्पनीले नेटवर्कको गुणस्तर, सञ्चालन दक्षता र डिजिटल सेवा प्रदान गर्ने क्षमतामा सुधार गर्दै नेपालको डिजिटल रूपान्तरण तथा समावेशितामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
सन् १९८७ मा स्थापना भएको ह्वावेले विश्वका १७० भन्दा बढी देशमा सूचना प्रविधि पूर्वाधार तथा स्मार्ट उपकरणसम्बन्धी काम गर्दै आएको छ। कम्पनीले नेपालमा सूचना प्रविधिको पहुँच विस्तार, रोजगारी सिर्जना, विपद् व्यवस्थापन, ऊर्जा तथा शैक्षिक कार्यक्रममार्फत पनि योगदान पुर्याउँदै आएको जनाएको छ।


प्रतिक्रिया