काठमाण्डु – नेपाल सरकारअन्तर्गतको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न १५ पदमा ४२ जना विज्ञ तथा प्राविधिक कर्मचारी माग गरेको छ ।
केन्द्रले सूचना प्रविधिसम्बन्धी प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।
केन्द्रले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रमुख प्रविधि विज्ञ पदमा मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ । उक्त पदमा १ जना माग गरिएको छ । यस पदका लागि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
परियोजना व्यवस्थापक तथा विभिन्न क्षेत्रका प्रमुख पदमा मासिक २ लाख रुपैयाँ पारिश्रमिक तोकिएको छ । परियोजना व्यवस्थापकमा २ जना तथा परियोजना तथा व्यावसायिक विश्लेषण, सफ्टवेयर इन्जिनियरिङ, गुणस्तर विश्लेषण र पूर्वाधार तथा सञ्चालन क्षेत्र प्रमुखमा १–१ जना माग गरिएको छ ।
यी पदका लागि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । परियोजना व्यवस्थापकका लागि योजना, समन्वय, जोखिम व्यवस्थापन, स्रोत योजना तथा प्रतिवेदन तयार गर्ने क्षमता आवश्यक पर्नेछ । क्षेत्र प्रमुखका लागि क्रमश: व्यावसायिक विश्लेषण, सफ्टवेयर संरचना तथा सुरक्षित विकास, गुणस्तर परीक्षण र सूचना प्रविधि पूर्वाधार सञ्चालनसम्बन्धी दक्षता तोकिएको छ ।
विज्ञापनअनुसार सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले अधिकांश पदमा आवेदन दिन सक्नेछन् । प्रमुख प्रविधि विज्ञ र परियोजना व्यवस्थापक पदका लागि भने स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८३ कात्तिक १८ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको वेबसाइटमार्फत अनलाइन दिन सकिनेछ ।
आवेदनसँगै अद्यावधिक व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित कार्यअनुभवको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
केन्द्रका अनुसार पहिलोदेखि छैटौँ क्रमसम्मका पदका लागि शैक्षिक योग्यता, कार्यअनुभव, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उम्मेदवार छनोट गरिनेछ । सातौँदेखि पन्ध्रौँ क्रमसम्मका पदका लागि शैक्षिक योग्यता, कार्यअनुभव, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका आधारमा छनोट प्रक्रिया अघि बढाइनेछ ।
विज्ञापनमा उल्लेखित पारिश्रमिक, सेवा सुविधा तथा करारसम्बन्धी अन्य व्यवस्था सफ्टवेयर विकास तथा सञ्चालन विकास समिति गठन आदेश, २०८३ तथा सोअनुसार हुने करार सम्झौताबमोजिम हुने केन्द्रले जनाएको छ ।
पढ्नुहोस् विज्ञापन –


प्रतिक्रिया