प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो हप्ता हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो हप्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमण आगामी मंसिर दोस्रो हप्ता हुने भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे ।

विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मंसिर दोस्रो हप्ता हुने समाचारहरू सार्वजनिक भएका छन् ।

मन्त्री खनालले भने, ‘तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छ्रैनौँ ।’ वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताए ।

‘भ्रमणका दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने छ,’ मन्त्री खनालले भने । भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्याससँगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलोपटक भारत भ्रमण हुन लागेको छ । (रासस)