नेपाल टेलिकमको आग्रह : ३० एमबीपीएस इन्टरनेट प्याकेजबारे भ्रममा नपर्नू

नेपाल टेलिकमको आग्रह : ३० एमबीपीएस इन्टरनेट प्याकेजबारे भ्रममा नपर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल टेलिकमले वार्षिक ४ हजार ९९९ रुपैयाँको ३० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै भ्रममा नपर्न सेवाग्राही र सरोकारवालालाई आग्रह गरेको छ ।

नेपाल टेलिकमले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा तथ्यभन्दा फरक ढंगले समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रका सर्तविपरीत काम गरेको विषयमा जारी गरेको विज्ञप्तिलाई आधार बनाएर ३० एमबीपीएसको प्याकेजबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको छ ।

नेपाल टेलिकमले आफूले विगतदेखि सञ्चालन गर्दै आएका प्याकेज स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको जनाएको छ । असोज ३० गतेदेखि अफरका रूपमा सञ्चालनमा ल्याइएको ३० एमबीपीएसको प्याकेजबारे पनि प्राधिकरणलाई जानकारी गराइसकेको कम्पनीको भनाइ छ ।

प्याकेज यसअघि पनि विद्यार्थी अफरका रूपमा प्राधिकरणलाई जानकारी गराएर सञ्चालन गरिएको नेपाल टेलिकमले स्पष्ट पारेको छ ।

कम्पनीले ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेज, ४ हजार ९९९ रुपैयाँको वार्षिक शुल्क तथा यसको स्वीकृति र सञ्चालनसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारबाट भ्रमित नहुन सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

नेपाल सरकारका स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर काम गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमले कानुनको पालना गर्न आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।