काठमाण्डु – दशमी, दुर्गापूजा, दशहरा आदि नामले सम्बोधन गरिने दसैँ वस्तुतः मिथिलाको महापर्व हो । यसले मैथिलहरूको मन मनमा अभूतपूर्व ऊर्जा एवं उल्लासको सञ्चार गर्दछ ।
मिथिलाका अन्य महत्त्वपूर्ण चाड पर्वको विशाल स्वागतद्वारको निर्माण विजया दशमीले नै गर्दछ । सामान्यतया मिथिलामा मनाइने प्रत्येक चाडबाडमा सांस्कृतिक मौलिकता तथा वैशिष्ट्य बढी देखिन्छ ।
मिथिला क्षेत्रमा अनेकौँ शक्तिपीठहरू हुनुका साथै, गाउँगाउँमा भगवतीका मन्दिरहरू पनि अवश्य पाइन्छन् । त्यति मात्र नभई मिथिलाको कुनै गाउँ यस्तो पाइँदैन, जहाँ दसैँको समयमा दुई चार ठाउँमा भगवतीका मूर्तिहरू बनाइएका नहोऊन् वा दुर्गापूजाको मेला (जात्रा) नलाग्दोहोस् । समयक्रममा मैथिलहरूको बसोबास रहेका ठाउँहरूमा पनि यस्ता परम्पराले झाँगिने मौका पाए ।
फलतः पछिल्ला ३, ४ दशकमा राजधानी काठमाण्डु तथा नेपालको पश्चिमी तराईतर पनि दसैँको यो स्वरूप विस्तृत हुन थालेको छ ।
सप्तरीको छिन्नमस्ता भगवती वा भारदहस्थित कङ्कालनी भगवती वा जनकपुरधामको राजदेवी मन्दिरमा जुन किसिमको भव्यता दसैँले ल्याएको हुन्छ, जस्तो विशाल मेला लाग्दछ, त्यस विषयमा विशेष भनिरहनुपर्ने आवश्यकता नै रहँदैन ।
मिथिलाका प्रायः प्रत्येक गाउँमा सप्तमीदेखि दशमी, एकादशी, द्वादशी मात्र नभई कोजाग्रात पूर्णिमासम्म पनि सङ्गीत, नाट्य समारोहहरूको आयोजना हुने गर्छ । अष्टमीका दिन घरका प्रत्येक कोठाको दैलोमा भगवतीको गोडा बनाउने चलन छ ।
मिथिलाका पुरुषहरू प्रायः नौरथाभरी शक्तिपीठ वा भगवती मन्दिरहरूमा गई दुर्गाकवच पाठ गर्ने गर्दछन् । कतिपय व्यक्ति आफ्नै गोसाउन घर (पूजा कोठा) मा पनि यसरी दुर्गा कवच पाठ गर्छन् । महिलाहरू पनि नित्य दिन भगवतीको पूजा-आराधना गर्नुका साथै कुमारी भोजन गराउने वा भगवतीलाई ‘पातरि दिने’ विशेष प्रकारको भोग लगाउने) काममा संलग्न हुन्छन् । यस प्रकार के देखिन्छ भने मिथिलामा मानिसहरू कलशस्थापन (घटस्थापना) कै दिनदेखि दसैँको भक्तिमयतामा चुर्लुम्म डुब्छन् ।
कतिपय श्रद्धालुहरू दश दिनसम्म शवासनको मुद्रामा सुतेर छातीमाथि जयन्ती (जमरा) उमार्छन् । अनेकौँ व्यक्ति नवरात्राभरि उपवास बस्छन् भने कतिपयले मात्र फलाहार गरेर पूरा दसैँ बिताउँछन् ।
सप्तमीदेखि नवमीसम्म विभिन्न भगवती मन्दिरहरूमा जस्ता भव्य मेलाहरू लाग्छन्, ती विमुग्धकारी हुने गर्छन् । केटाकेटीदेखि बुढापाकासम्म, महिला पुरुष, तरुनी तन्नेरी सबै आप्नो आस्था, उमङ्ग र भावनाका साथ समान उत्साहसाथ यी मेलाहरूमा सहभागी हुन्छन् ।
यसबाहेक वैवाहिक कर्मसँग जोडेर पनि मिथिलामा दसैँलाई थप महिमामण्डन गरिएको छ । केही जात विशेषमा कोजाग्रात पूर्णिमाको साँझ पान र मखान अनिवार्य रूपले खाने पर्व, ‘कोजगरा’ भव्यतापूर्वक मनाइन्छ । यसमा मिथिलाको मौलिक उत्पादनलाई संरक्षण र टेवा दिने अभिप्राय अन्तर्निहित रहेको देखिन्छ । किनकि संसारमै मखानको कुल उत्पादनमध्ये ९० प्रतिशतजति नेपाल र भारतको मिथिला क्षेत्रमा नै हुने गर्दछ । मखानको प्रवद्र्धनका निमित्त पान मखान स्वर्गमा पनि पाइँदैन भन्ने कथनलाई व्यापक तुल्याइएको छ ।
हरेक शुभ कार्य साइत हेरेर मात्र गरिने मानसिकता र परम्परा रहेको मिथिलामा दशमीको दिनलाई ‘जतरा’ भनेर पनि सम्बोधन गरिन्छ, जसको अर्थ नै ‘साइत’ हुन्छ । भनिन्छ– यस दिन दशै दिशा खुल्ला हुन्छ । त्यसैले कुनै पनि कामका लागि साइत हेरिराख्नु आवश्यक हुँदैन । यस्तै जतराको दिन एकाबिहानै उठेर नीलकण्ठको चराको दर्शन गर्ने प्रचलन छ । यसले कतै न कतै घर छेउछाउ रुखबिरुवाको प्रचुरता रहोस् र चराचुरुङ्गीहरू पनि सबै प्रकारका रहून् भन्ने कुरालाई आधार दिएको मान्न सकिन्छ ।
मिथिलामा दसैँले लोक गीत नृत्यको विशिष्ट अनुष्ठान झिझियालाई संरक्षण दिएको छ । घटस्थापनाकै दिनदेखि गाउँका किशोरी युवती महिलाहरू राति खाना खाएर एकठाउँ भेला हुन्छन् र झिझिया गाउने अनि नाच्ने गर्छन् । गीत नृत्य सुरु गर्नुभन्दा पहिले महिलाहरूको समूह ग्रामदेवता (डिहबार, ब्रह्मस्थान) को स्थानमा पुगेर पहिले डल्ले सुपारी सलामी चढाएर पूजा गर्छन् अनि नाच्दै गाउँदै गाउँ भ्रमण गर्छन् ।
यसमा प्वालैप्वाल पारिएको घैँटो भित्र दियो बालेर उक्त घैँटो टाउकोमा राखेर नृत्य गरिन्छ । यद्यपि झिझिया नाच गर्नाले बोक्सी वा दुष्टात्माहरूको प्रभावबाट मुक्त भइने विश्वास राखिन्छ तर वस्तुतः यो विभिन्न किसिमको बन्धनमा थिचिएका महिलाहरूले दसैँताकाको शारदीय सन्ध्यामा उन्मुक्त रूपले ग्राम भ्रमण गर्ने तथा आफ्नो कला पस्किने एउटा विशिष्ट अवसर स्वयंले निर्माण गरेको एउटा उपक्रम हो ।
दसैँको सम्पूर्ण अवधिभर खासगरी महिलाहरूले भगवतीका विभिन्न रूपको पूजा आराधना गर्दै तत्सम्बन्धी संस्कार गीतहरू गाउने गर्दछन् । समूहमा गाइने यस्ता गीतहरूले नौरथा लागेदेखि नै बेग्लै प्रकृतिको भक्तिमयता सिर्जना गर्छ । जतराको दिन भगवतीलाई बिदा गरिन्छ । यसमा पनि मिथिलाको परम्पराअनुसार बिदाइको घडीमा गाइने शोकगीत समदाओन गाइने परम्परा छ ।


प्रतिक्रिया