जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न भ्याइँनभ्याइँ भएको छ ।
दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए ।
किसानहरूको दिनचर्या अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरू दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताए । उनका अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त हुने गरेको बताए ।
जिल्लाभर २ हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमश: मार्सीधान लगाउने क्षेत्रफल बढ्दै गएको कार्यालयले जनाएको छ । गत वर्ष १ हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने १ हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ ।
अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–१ र चन्दननाथ–३ का साथै लेकाली–१ र लेकाली–३ जातको धान रोप्ने गरेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया