काठमाण्डु – बलिउड अभिनेता टाइगर श्राफमाथि आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा गोली प्रहार भएको छ। फुटबल खेलेर घर फर्कँदै गर्दा उनी सवार कारमा मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका थिए ।
घटनामा ३६ वर्षीय श्राफ सकुशल रहेका छन् भने उनका ड्राइभर र एक अटोचालक घाइते छन् । प्रहरीले आक्रमणकारीको खोजीका लागि १२ टोली गठन गरेको छ ।
लरेन्स बिश्नोई समूहका नाममा सामाजिक सञ्जालमा पोस्ट गर्दै विदेशमा रहेका भनिएका अनिल पण्डित र हरमन सन्धुले घटनाको जिम्मेवारी लिएको दाबी गरेका छन् । तर उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।
सन् २०१४ देखि बलिउडमा छाएका श्राफका हिरोपन्ती र बागी सिरिजका फिल्म चर्चित छन् ।
बलिउड स्टार श्राफमाथि भएको आक्रमण पहिलो होइन । यसअघि पनि विभिन्न कलाकारमाथि घातक आक्रमण भइसकेको छ ।
पछिल्ला केही वर्षमा बलिउडसँग जोडिएका कयौँ हस्तीमाथि ज्यान मार्ने प्रयास भएका छन्। टाइगर श्राफमाथि भएको आक्रमणले फेरि एकपटक सेलिब्रेटीको सुरक्षाबारे चिन्ता बढाएको छ।
पछिल्लो समय फिल्म उद्योगसँग जोडिएर हमलाकारीको निशानामा परेकाहरूमा अभिनेता सलमान खान र सैफ अली खानको नाम विशेष रूपमा उल्लेखनीय छ।
यहाँ पछिल्लो समय आक्रमणकारीको निशानामा परेका बलिउडका केही हस्तीबारे उल्लेख गरिएको छ।
रोहित शेट्टी
फिल्म निर्माता रोहित शेट्टीको मुम्बईको जुहुस्थित घरलाई सन् २०२४ को फेब्रुअरीमा राति गोलीबारी गरी निशाना बनाइएको थियो।
प्रहरीका अनुसार यो आक्रमण शुभम लोणकर गिरोहले गरेको थियो। गोली काण्डको उद्देश्य फिरौती र डर पैदा गर्नु रहेको बताइएको थियो। अनुसन्धानकर्ताहरूले यस घटनामा संलग्न भएको आशंकामा केही संदिग्धलाई पक्राउ गरेको थियो।
यस घटनामा प्रदीप कुमार उर्फ गाथलाई सन् २०२४ को अक्टोबरमा उत्तर प्रदेशको आग्राबाट उत्तर प्रदेश स्पेसल टास्क फोर्स र मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको थियो।
दिशा पाटनी
सन् २०२५ को सेप्टेम्बरमा उत्तर प्रदेशको बरेलीस्थित अभिनेत्री दिशा पाटनीका पिता जगदीश पाटनीको घरबाहिर बन्दुकधारीले गोली चलाएका थिए।
यस आक्रमणको जिम्मेवारी गोल्डी बरार र रोहित गोदारा गिरोहले सामाजिक सञ्जालमार्फत लिएका थिए। दिशाकी बहिनी खुुस्बु पाटनीले आध्यात्मिक गुरुहरूबारे कथित रूपमा गरेको टिप्पणीपछि दिइएको चेतावनीस्वरूप उक्त गोली हानिएको गिरोहले दाबी गरेको थियो।
यस घटनासँग जोडिएका दुई जना आक्रमणकारी पछि गाजियाबादमा प्रहरीसँगको मुठभेडमा मारिएका थिए।
सलमान खान
मुम्बईमा सलमान खानको घरबाहिर सन् २०२४ को अप्रिलमा गोली चलाइएको थियो। यस घटनामा प्रहरीले दायर गरेको आरोपपत्रमा पटक–पटक ग्याङ्स्टर लरेन्स बिश्नोईको नाम उल्लेख गरिएको छ।
बिश्नोई समुदायका मानिसहरूले कालो हरिणलाई पवित्र मान्छन्। प्रहरीका अनुसार करिब तीन दशकअघि फिल्मको सुटिङका क्रममा सलमान खानमाथि दुई कालो हरिणको सिकार गरेको आरोप लागेको थियो। यही घटनाका कारण बिश्नोई गिरोह सलमान खानसँग असन्तुष्ट रहेको बताइएको छ।
राकेश रोशन
फिल्म निर्माता राकेश रोशन सन् २००० को जनवरीमा हत्या प्रयासबाट जोगिएका थिए। मुम्बईस्थित उनको कार्यालयबाहिर दुई जना अज्ञात बन्दुकधारीले गोली चलाएका थिए। उनको हात र छातीमा गोली लागेको थियो। तर उनी उक्त आक्रमणबाट बाँच्न सफल भए।
यो घटना उनका छोरा ऋतिक रोशनको पहिलो फिल्म ‘कहो ना प्यार है’ सफल भएपछि भएको थियो। फिरौतीको रकम दिन अस्वीकार गरेपछि राकेश रोशनलाई निशाना बनाइएको बताइएको थियो।
करण थापरसँगको बीबीसी अन्तर्वार्तामा ऋतिकले आफ्नो पहिलो फिल्म चर्चामा आइरहेका बेला भएको गोलीबारीको घटना थाहा पाउँदाको सदमा सम्झिएका थिए। उनका अनुसार राकेश रोशनलाई परिवारका अन्य सदस्यहरू पनि जोखिममा पर्न सक्ने डर थियो।
राजीव राय
‘गुप्त’ जस्ता फिल्म निर्देशनका लागि परिचित फिल्म निर्माता राजीव रायले सन् १९९७ मा गम्भीर आक्रमणको सामना गरेका थिए। अबु सलेम गिरोहसँग कथित रूपमा जोडिएका पाँच जना हमलाकारीले मध्य मुम्बईमा उनीमाथि हमला गरेका थिए।
राजीव राय आफ्नो कार्यालयबाट बाहिर निस्कँदै गर्दा आक्रमणकारीले गोली चलाएका थिए।
त्यसअघि नै धम्की आइसकेकाले प्रहरीले उनको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो। ती अंगरक्षकहरूले बीचमा आएर आक्रमणकारीको सामना गरेर नीहरूलाई खेद्न सफल भएका थिए।


प्रतिक्रिया