काठमाण्डु– आफूलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा स्ट्रिमर तथा र्यापर मनिष पाण्डे ‘झापालिस’ले प्रधानमन्त्री वालेन्द्र शाहलाई मेसेज गरेका छन्।
झापालिसले र्यापर भिटेनलाई पक्राउ गरिएका बेला बालेनले सामाजिक सञ्जालमा लेखेको ‘फ्री भिटेन, मेबी वान डे नेपाल गभर्मेन्ट विल अन्डरस्ट्यान्ड हिपहप’ भन्ने अभिव्यक्ति सम्झाउँदै प्रधानमन्त्री शाहलाई मेसेज गरेका हुन्।
‘ओ बालेन दाइ, के होरु मुख छाडेकै भरमा त्यसरी हाल्नु त भएन नि। त्यत्रो भिटेनको बारेमा, र्यापमा मुख छाड्यो भनेर जेल हाल्दा ‘फ्री भिटेन, मेबी वान डे नेपाल गभर्मेन्ट विल अन्डरस्ट्यान्ड हिपहप’ भन्ने मान्छे अहिले आएर यस्तो व्यवहार चाहिँ ओभर भएन र ? भएन है, भएन,’ उनले मेसेजमा लेखेका छन्।
उनले गृहमन्त्री सुधन गुरुङलाई पनि सम्झाइदिन प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन्। झापालिसले प्रधानमन्त्रीलाई पठाएको मेसेजको स्क्रिनसट आफ्नो इन्स्टाग्राम स्टोरीमा सार्वजनिक गरेका हुन्।
उनको मेसेजले अभिव्यक्ति स्वतन्त्रता, हिपहप संस्कृति र सामाजिक सञ्जालमा व्यक्त गरिने अभिव्यक्तिका विषयमा राजनीतिक नेतृत्वको विगत र वर्तमानको व्यवहारबीच तुलना गरेको छ।
सामाजिक सञ्जालमा घृणा र अश्लील शब्द प्रयोग गरेको आरोपमा प्रहरीले स्ट्रिमर पाण्डेलाई गत असोज २७ गते प्रहरीले पक्राउ गरि सोधपुछ गरेको थियो ।
‘झापाली ब्रो’ र ‘झापालिस’ उपनामले चिनिने पाण्डेले समाजमा घृणा फैलाउने भद्दा र अश्लील शब्द प्रयोग गरेको गुनासो परेको आरोपमा समातिएको थियो ।
झापाको मेचीनगर नगरपालिका वडा–६ स्थितबाट उनलाई जिल्ला प्रहरी कार्यालय ल्याएर सोधपुछ गर्दा पाण्डेले उक्त कार्य गरेकोमा पश्चात्ताप गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताएका थिए। तर आफूलाई पक्राउ गरेर छाडिएपछि उनी सरकारसँग झन् आक्रमक भएका छन् ।


प्रतिक्रिया