काठमाण्डु – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र ५० जना नेता तथा कार्यकर्तालाई जिम्मेवारीबाट हटाउने निर्णयले विवाद चर्किएको छ ।
महासचिव अञ्जना शिवाकोटीको हस्ताक्षरमा जारी सर्कुलरप्रति उपाध्यक्षसहित ५ जना केन्द्रीय पदाधिकारीले आपत्ति जनाउँदै त्यसलाई अवैधानिक र स्वेच्छाचारी भनेका छन् ।
संगठनको केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा सदस्यसहित ५० जनालाई जिम्मेवारीबाट हटाउने निर्णय सार्वजनिक भएपछि अनेरास्ववियुभित्रको असन्तुष्टि सतहमा आएको हो ।
कारबाहीमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य सरस्वती थापा, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पूर्वसचिव सिद्धान्त भट्ट र सुनिल थापा सहितका नेता परेका छन् ।
संगठनले लामो समय बैठकमा अनुपस्थित रहेको, तोकिएको जिम्मेवारी पूरा नगरेको र संगठनात्मक गतिविधिमा सक्रियता नदेखाएको कारण देखाउँदै उनीहरूलाई हटाएको बताइएको छ । तर कारबाहीमा परेका केही नेताले भने आफूहरूसँग स्पष्टीकरणसमेत नसोधी निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सर्कुलरविरुद्ध ५ पदाधिकारी
अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ, उपमहासचिव कमल जोशी तथा सचिवहरू आकाश घर्ती, समिमबाबु खान र गोपाल नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै सर्कुलरको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
गत असोज २२ गते आरआर क्याम्पसमा अध्यक्ष दीपक धामीको अध्यक्षता र एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज रश्मी आचार्यको प्रमुख आतिथ्यतामा बसेको पदाधिकारी बैठकमा भएको सहमतिविपरीत सर्कुलर जारी गरिएको उनीहरूले बताएका छन् ।
महासचिवले संस्थागत निर्णयविपरीत एकलौटी रूपमा निर्णय गरेको आरोप लगाउँदै उनीहरूले त्यसबाट सामूहिक नेतृत्व र संगठनात्मक पद्धतिमाथि प्रश्न उठेको बताएका छन् । निर्वाचित पदाधिकारीलाई सुनुवाइको अवसर नदिई जिम्मेवारीबाट हटाइएको र मापदण्डविपरीत नयाँ मनोनयन गरिएको उनीहरूको दाबी छ ।
विवाद समाधानका लागि औपचारिक पदाधिकारी बैठक बोलाएर छलफल गर्ने र सबैलाई न्याय हुने गरी नयाँ सर्कुलर जारी गर्ने उनीहरूले बताएका छन् ।
निर्जलाको आक्रोश, ‘बिदा हामी होइन, असक्षमहरू हुने हो’
कारबाहीमा परेको भनिएकी केन्द्रीय सदस्य निर्जला पोखरेलले सामाजिक सञ्जालमार्फत निर्णयप्रति आक्रोश व्यक्त गरेकी छन् ।
२४औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख गर्दै उनले जेन्जी आन्दोलनपछि संगठन जटिल अवस्थामा पुगेका बेला आफूले घरपरिवार छाडेर संगठनका लागि काम गरेको बताएकी छन् ।
सामाजिक सञ्जालमा संगठनको पक्षमा लेख्दा र बोल्दा गालीगलौज सहनुपरेको उल्लेख गर्दै उनले आफूहरूलाई हटाउने निर्णय कुन बैठकले गरेको हो र आफ्नो गल्ती के हो भन्ने प्रश्न गरेकी छन् ।
‘कुन बैठकमा हामीलाई कारबाही गर्ने निर्णय भयो ? हामीले गरेको गल्ती के हो ? मसँग कुनै सल्लाह नगरी सर्कुलरको नाममा आएको चिर्कटो स्वीकार्य छैन,’ पोखरेलको भनाइ छ । उनले आफूहरूलाई बिदा गर्ने निर्णयको प्रतिवाद गर्दै ‘बिदा हामी होइन, असक्षम तपाईंहरू हुने हो’ भनेकी छन् ।
विवाद अब संगठनात्मक विधि र नेतृत्वमाथि
अनेरास्ववियुको विवाद ५० जनालाई हटाउने निर्णयमा मात्रै सीमित देखिएको छैन । निर्णय गर्ने प्रक्रिया, नेतृत्वको अधिकार र संगठनभित्र असहमति राख्ने नेताहरूमाथि गरिएको व्यवहारसमेत विवादको विषय बनेको छ ।
एकातिर संगठनले बैठकमा अनुपस्थित र जिम्मेवारी पूरा नगर्ने नेताहरूलाई हटाएको दाबी गरेको छ । अर्कोतिर असन्तुष्ट पदाधिकारी तथा कारबाहीमा परेका नेताहरूले निर्णय प्रक्रिया नै त्रुटिपूर्ण रहेको आरोप लगाएका छन् ।
यस विवादले एमालेनिकट विद्यार्थी संगठनभित्रको नेतृत्व, अनुशासन र आन्तरिक लोकतन्त्रसम्बन्धी बहसलाई थप चर्काएको छ । एमालेमा पछिल्लो समय अध्यक्ष ओलीको विपक्षमा उभिनेहरूमाथि कारबाही अभियान चलाइएको छ । अनेरास्ववियुमा पनि ओली र उनको नेतृत्वको विपक्षमा उभिने अधिकांशमाथि सफाया अभियान चलाइएको छ ।


प्रतिक्रिया