भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ

भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका – बंगलादेशका पूर्व वायुसेना प्रमुख एयर भाइस मार्सल (सेवानिवृत्त) शेख अब्दुल हन्नान कतारमा पक्राउ परेका छन् ।

भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेका उनलाई ३ दिनअघि कतारी प्रहरीले पक्राउ गरेको बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले जनाएको छ ।

आयोगका सचिव सैदुर रहमान खानका अनुसार इन्टरपोलले इमेलमार्फत हन्नान पक्राउ परेको पुष्टि गरेको हो । आयोगले आईतबार यसबारे जानकारी दिएको थियो ।

हन्नानमाथि वैध आम्दानीको स्रोतभन्दा बढी सम्पत्ति आर्जन गरेको, विभिन्न बैंक खातामा १४ करोड ८ लाख टाका (बंगलादेशी मुद्रा) भन्दा बढीको शंकास्पद कारोबार र विदेशमा रकम शुद्धीकरण गरेको आरोप छ ।

भ्रष्टाचारविरोधी आयोगले सन् २०२५ जुलाई २७ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगको अनुसन्धानमा ज्ञात आम्दानीको स्रोतभन्दा बाहिरबाट ३ करोड २८ लाख टाका बराबरको सम्पत्ति आर्जन गरेको हुन सक्ने प्रमाण फेला परेको दाबी गरिएको छ ।

विदेशको सम्पत्तिबारे पनि अनुसन्धान

आयोगले सन् २०२५ फेब्रुअरी ६ मा हन्नानमाथि अनुसन्धान सुरु गरेको थियो । तत्कालीन उपनिर्देशक तन्जिर हासिब सरकारले नेतृत्व गरेको ३ सदस्यीय टोलीलाई अनुसन्धानको जिम्मेवारी दिइएको थियो ।

अनुसन्धानमा पदको दुरुपयोग, सरकारी कोषमा क्षति पुर्‍याएको, घुसखोरी, भर्ती प्रक्रियामा अनियमितता र रकम हिनामिनासम्बन्धी आरोपसमेत समेटिएका थिए ।

हन्नानको कतार, क्यानडा र अन्य देशमा रहेको सम्पत्तिबारे जानकारी माग्दै आयोगले सन् २०२६ मे २३ मा बंगलादेशको वित्तीय गुप्तचर इकाइलाई पत्र पठाएको थियो ।

त्यसैगरी, २१ जुनमा बंगलादेश प्रहरीको इन्टरपोलसम्बन्धी राष्ट्रिय केन्द्रीय ब्युरोलाई पनि विदेशमा रहेको उनको सम्पत्तिबारे जानकारी माग गरिएको थियो ।

श्रीमतीको नामको सम्पत्ति रोक्का

आयोगका अनुसार हन्नान र उनकी श्रीमतीको नाममा रहेको चल–अचल सम्पत्ति रोक्का गर्न अदालतबाट आदेश लिइएको छ । ती सम्पत्तिको व्यवस्थापन तथा निगरानीका लागि रिसिभरसमेत नियुक्त गरिएको आयोगले जनाएको छ ।

हन्नानविरुद्ध बंगलादेशको भ्रष्टाचारविरोधी आयोग ऐन, २००४, सम्पत्ति शुद्धीकरण रोकथाम ऐन, २०१२ र भ्रष्टाचार निवारण ऐन, १९४७ का विभिन्न प्रावधानअन्तर्गत मुद्दा दायर गरिएको हो । उनीमाथि लागेका आरोपबारे अनुसन्धान जारी रहेको छ ।