पेरिस – फ्रान्समा भएको हिंसात्मक प्रदर्शन र लुटपाटका क्रममा फूटबल क्लब मार्से र लिलका आधिकारिक पसलसमेत निशानामा परेका छन् ।
दुवै क्लबले आफ्ना पसलमा तोडफोड र लुटपाट भएको जनाएका छन् ।
मार्सेले आफ्नो आधिकारिक पसलमा ठूलो क्षति पुगेको जनाएको छ । दक्षिणी फ्रान्सको बन्दरगाह सहर मार्सेको प्रसिद्ध सडक ला कानेबिएरमा रहेको उक्त पसल अस्थायी रूपमा बन्द गरिएको छ ।
उत्तरी फ्रान्सको लिल सहरको केन्द्रमा रहेको लिल क्लबको पसलमा पनि व्यापक तोडफोड र लुटपाट भएको छ । क्लबका अनुसार अर्को सूचना जारी नभएसम्म पसल बन्द रहनेछ ।
लिलले घटनापछि सहयोग गर्ने पसलका कर्मचारी, समर्थक तथा अन्य सर्वसाधारणप्रति आभार व्यक्त गरेको छ । प्रदर्शनका क्रममा पसलमा क्षति पुगेपछि पनि सहयोगका लागि अघि सरेका मानिसहरूको क्लबले प्रशंसा गरेको छ ।
फ्रान्समा संकटकाल लगाउने चेतावनी
यसैबिच फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आवश्यक परे देशमा संकटकाल घोषणा गर्न सकिने बताएका छन् । यद्यपि अहिलेको परिस्थितिमा कर्फ्यु लगाउनु बढी उपयुक्त हुने उनको भनाइ छ ।
हिंसात्मक प्रदर्शनपछि आयोजित संकट व्यवस्थापन बैठकमा उनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।
‘संकटकाल निकै गम्भीर कदम हो । त्यसैले आवश्यक परे त्यसलाई लागू गर्न सकिन्छ । तर अहिलेको परिस्थितिमा कर्फ्यु लगाउने र त्यसलाई कार्यान्वयन गर्ने उपाय बढी उपयुक्त देखिन्छ,’ उनले भने ।
प्रधानमन्त्री लेकोर्नुले केही स्थानीय निकायलाई आंशिक कर्फ्यु लागू गर्न आग्रह गरेका छन् । प्रदर्शनका क्रममा व्यवसाय तथा पसलहरूमा क्षति पुगेपछि तिनको सुरक्षा गर्नु कर्फ्युको प्रमुख उद्देश्य रहेको उनले बताए ।
प्रदर्शनबाट प्रभावित व्यवसायका लागि मंगलबारदेखि अस्थायी रूपमा काम रोक्नुपर्ने अवस्थासँग सम्बन्धित राहत व्यवस्था पनि उपलब्ध गराइने उनले जानकारी दिए ।


प्रतिक्रिया