फेरि युद्ध चर्किने आशंकाबिच मध्यपूर्वमा चीन–रुस सक्रिय, अबको प्रहार झन् कडा हुनेछ : इरान

फेरि युद्ध चर्किने आशंकाबिच मध्यपूर्वमा चीन–रुस सक्रिय, अबको प्रहार झन् कडा हुनेछ : इरान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्यपूर्वमा फेरि युद्ध चर्किने आशंका बढिरहेका बेला चीन र रुस कूटनीतिक रूपमा सक्रिय भएका छन् ।  

चीनले इरानसँग संवाद र सहकार्य बढाउन जोड दिएको छ भने रुसी विदेशमन्त्री तेहरान पुगेका छन् ।

उता इरानले अमेरिकी सैन्य अखडाहरू निष्क्रिय बनाइएको दाबी गर्दै पुन: आक्रमण भए पहिलेभन्दा कडा जवाफ दिने चेतावनी दिएको छ ।  

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि आवश्यक परे जुनसुकै बेला शत्रुमाथि प्रहार गर्न तयार रहेको बताएका छन् ।

मध्यपूर्वमा बढ्दो तनावबिच चीन, रुस, इरान र इजरायलका पछिल्ला गतिविधिले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको संकेत गरेका छन् ।

इरानलाई चीनको साथ

चीनका प्रधानमन्त्री ली छ्याङले इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरिफसँग भेट गर्दै सबै देशको सार्वभौमसत्ता र सुरक्षाको सम्मान हुनुपर्ने बताएका छन् ।

ताजिकिस्तानको राजधानी दुशान्बेमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकका क्रममा भएको भेटमा लीले इरानसँग विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य अघि बढाउन चीन तयार रहेको बताएका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार लीले सम्बन्धित सबै पक्षलाई शान्तिको बाटो रोज्न, संवाद र वार्ता पुन: सुरु गर्न तथा राजनीतिक एवम् कूटनीतिक माध्यमबाट मतभेद समाधान गर्न आग्रह गरेका छन् ।

मध्यपूर्वमा चाँडो शान्ति पुन:स्थापना गर्नुपर्नेमा जोड दिँदै चीनले कूटनीतिक पहललाई प्राथमिकता दिएको छ । यसले क्षेत्रीय तनाव कम गर्न बेइजिङले इरानसँगको सम्बन्धलाई महत्त्व दिएको देखाउँछ ।

युद्धपछि पहिलोपटक तेहरानमा लाववरोभ

रुसका विदेशमन्त्री सर्गेई लावरोभ मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक इरान पुगेका छन् । रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार बहराइनबाट तेहरान पुगेका लावरोभले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघ्चीसँग भेट गर्ने कार्यक्रम छ ।

मस्कोले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोजिरहेका बेला लावरोभको तेहरान भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

चीनले संवाद र वार्तामा जोड दिइरहेका बेला रुसको उच्चस्तरीय कूटनीतिक सक्रियताले पनि मध्यपूर्वको संकट समाधानमा दुवै शक्तिराष्ट्रको चासो देखाएको छ । यद्यपि चीन र रुसको सक्रियताले युद्ध रोक्न वा तनाव तत्काल कम गर्न कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन ।

इरानको दाबी, ‘अमेरिकी सैन्य अखडा निष्क्रिय बनाइए’

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल होसेन मोहिब्बीले मध्यपूर्वका अधिकांश अमेरिकी सैन्य अखडाहरू निष्क्रिय बनाइएको दाबी गरेका छन् । इरानको सरकारी प्रसारण संस्था प्रेस टीभीका अनुसार उनले ती अखडाहरूबाट इरानमाथि पुन: आक्रमण गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

‘अमेरिका अघिल्लो युद्धमा आफ्नो सम्पूर्ण सैन्य शक्तिका साथ प्रवेश गरेको थियो। थप उपलब्धि हासिल नहुने नयाँ युद्ध सुरु गर्ने अवस्थामा अहिले अमेरिका छैन,’ मोहिब्बीलाई उद्धृत गर्दै प्रेस टीभीले जनाएको छ ।

उनले मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य अखडा निष्क्रिय भएको, अमेरिकी सेना थकित बनेको र इरानबाट सयौँ किलोमिटर पछाडि हटेको दाबी गरेका छन् ।

इरानले युद्धको सम्भावना पूर्ण रूपमा नकारेको छैन । मोहिब्बीले इरानमाथि पुन: आक्रमण भए त्यसको जवाफ पहिलेभन्दा धेरै शक्तिशाली हुने चेतावनी दिएका छन् ।

उनको अभिव्यक्तिले तेहरानले युद्धविराम वा तनाव कम गर्ने सम्भावनासँगै अर्को सैन्य मुठभेडका लागि पनि आफूलाई तयार राखेको संकेत गर्छ ।

नेतान्याहुको चेतावनी : ‘शत्रुलाई तत्काल प्रहार गर्छौँ’

इरानले कडा चेतावनी दिइरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि आफ्ना शत्रुमाथि आवश्यक परेको क्षणमै प्रहार गर्न इजरायल तयार रहेको बताएका छन् ।

एएफपीका अनुसार एक सैन्य अखडाबाट भिडियो सन्देश जारी गर्दै नेतान्याहुले आफूले सम्बन्धित कमान्डरसँग कुरा गरेको र इजरायलको सैन्य क्षमता नजिकबाट देखेको बताएका छन् ।

‘हाम्रा शत्रुलाई भन्छु, हाम्रो परीक्षा नलिनू । अहिलेसम्म भोगेका प्रहारभन्दा अझ कडा प्रहार सहनुपर्नेछ,’ उनले चेतावनी दिएका छन् ।

इजरायलमा हुन लागेको कडा प्रतिस्पर्धाको निर्वाचनभन्दा ८ दिनअघि आएको उनको अभिव्यक्ति इरानलाई लक्षित चेतावनीका रूपमा आएको एएफपीले जनाएको छ ।

इरानले अमेरिकी सैन्य उपस्थितिलाई चुनौती दिइरहेका बेला इजरायलले पनि आवश्यक परे तत्काल सैन्य कारबाही गर्ने घोषणा गर्नुले मध्यपूर्वमा तनाव थप चर्किन सक्ने आशंका बढाएको छ ।

फ्रान्सेली राष्ट्रपतिमाथि इरानको आरोप

यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि इरानविरुद्धको अमेरिकी नीतिलाई समर्थन गरेको आरोप लगाएका छन् ।

फ्रान्समा भइरहेका व्यापक प्रदर्शनका सन्दर्भमा सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै अराघ्चीले म्याक्रोँले इरानी नागरिकमाथि भएका अत्याचारलाई स्वागत गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको उनको समर्थनको आलोचना गरेका छन् ।

अराघ्चीले इरानमाथिको युद्ध निम्त्याउन सहयोग गर्ने पक्षले त्यसका परिणामबाट पन्छिन नसक्ने आशय व्यक्त गरेका छन् । उनको यो अभिव्यक्तिले मध्यपूर्वको युद्धसम्बन्धी विवाद सैन्य मोर्चामा मात्र सीमित नरही अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र युरोपेली राजनीतिक वृत्तसम्म फैलिएको देखाउँछ ।

कूटनीति र सैन्य चेतावनी आमनेसामने

मध्यपूर्वमा अहिले २ विपरीत संकेत देखिएका छन् । चीन र रुस कूटनीतिक संवाद तथा मध्यस्थतामार्फत संकट समाधान गर्ने दिशामा सक्रिय देखिएका छन् । तर इरान र इजरायलका नेताहरूका पछिल्ला अभिव्यक्तिले दुवै पक्ष सैन्य विकल्पबाट पछि हटिसकेका छैनन् भन्ने देखाउँछन् ।

चीनले सबै पक्षलाई वार्तामा फर्किन आग्रह गरेको छ भने रुसले इरानी नेतृत्वसँग प्रत्यक्ष संवाद अघि बढाउन खोजेको छ ।

अर्कोतर्फ इरानले अमेरिकी सैन्य क्षमतामाथि प्रश्न उठाउँदै कडा प्रतिकारको चेतावनी दिएको छ । इजरायलले पनि आवश्यक परे तत्काल आक्रमण गर्ने नीति दोहोर्‍याएको छ ।

यस्तो अवस्थामा चीन र रुसको कूटनीतिक सक्रियता युद्ध रोक्ने प्रभावकारी माध्यम बन्छ वा मध्यपूर्व फेरि अर्को सैन्य टकरावतर्फ अघि बढ्छ भन्ने कुरा आगामी दिनमा हुने वार्ता र सम्बन्धित पक्षका निर्णयमा निर्भर रहनेछ ।