काठमाण्डु– भारतमा पनि नेपाल, बंगलादेश र फ्रान्समा जस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले बताएका छन्।
उनले सत्ता परिवर्तन गरेर परिस्थिति सुधार्ने नभई आफ्ना समर्थकलाई सत्तामा पुर्याउने उद्देश्यले केही शक्तिले काम गरिरहेको आरोप लगाए।
मंगलबार नागपुरस्थित आरएसएस मुख्यालयमा आयोजित विजयादशमी उत्सवलाई सम्बोधन गर्दै भागवतले भारतलाई कमजोर बनाउन चाहने शक्तिहरू सक्रिय रहेको बताए।
त्यस्ता शक्तिले भारत र हिन्दू समाजलाई विभाजित गर्न खोजेको उनको आरोप थियो। उनले केही नेताले समेत त्यस्ता शक्तिलाई सहयोग गरिरहेको दाबी गरे।
‘सरकार परिवर्तन गर्दैमा परिस्थिति बदलिन्छ भन्ने सोच गलत हो। यस्तो न पहिले भएको थियो, न भविष्यमा हुनेछ,’ भागवतले भने।
उनले फ्रान्स, नेपाल र बंगलादेशका घटनाको उदाहरण दिँदै पश्चिमबाट आएको एउटा प्रवृत्तिले विभिन्न संस्कृतिको विरोध गर्ने र तिनलाई नष्ट गर्न खोज्ने आरोप लगाए। भारतमा पनि यस्ता प्रयास भइरहेको उनको भनाइ थियो।
आन्दोलन समाधानका लागि हुनुपर्छ
भागवतले आन्दोलनको उद्देश्य समाजमा विभाजन र द्वेष फैलाउनु नभई समस्याको समाधान खोज्नु हुनुपर्ने बताए। कतिपय आन्दोलनलाई अन्य उद्देश्यका लागि प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाइने गरेको उनको भनाइ थियो।
‘समस्या समाधानका लागि आन्दोलन हुन्छन्, तर आन्दोलनबाट समस्या समाधान भएका उदाहरण निकै कम छन्,’ उनले भने।
समाज र देशलाई नेताहरूले मात्रै सञ्चालन नगर्ने भन्दै उनले सामाजिक सक्रियताबाट पनि समस्याको समाधान सम्भव हुने बताए। समाजलाई विभाजित गर्ने र व्यवस्थाप्रति द्वेष फैलाउने प्रयास विगतदेखि नै हुँदै आएको उनको दाबी थियो।
एकता कायम राखे कसैले केही गर्न सक्दैन
भागवतले भारतलाई कमजोर बनाउन चाहने शक्तिको प्रभावमा नपरी एकता कायम राख्नुपर्नेमा जोड दिए।
उनले सन् १९०५ मा तत्कालीन ब्रिटिस सरकारले बंगाललाई हिन्दू र मुस्लिमका आधारमा विभाजन गरेको प्रसंग उल्लेख गर्दै चार वर्षपछि उक्त निर्णय फिर्ता लिनुपरेको बताए।
तर सन् १९४७ मा भारतको विभाजन रोक्न नसकिएको भन्दै उनले त्यसको कारण मानिसमा फरक देखिने समुदाय अलग नै हुन् भन्ने सोच विकास हुनु र तुष्टीकरणको राजनीतिले विभाजनकारी मानसिकतालाई प्रोत्साहन गर्नु रहेको दाबी गरे।
उनले साना व्यक्तिगत अहंकार त्यागेर देशका लागि काम गर्नुपर्ने बताए। ‘हामी सबैका पुर्खा एउटै हुन् र हाम्रो संस्कृतिको मूल पनि एउटै हो,’ भागवतले भने, ‘कसैको छुट्टै पहिचान नष्ट नगरी सबैलाई सँगै लिएर अघि बढ्नुपर्छ।’
भारतको परम्परा र विचारले विश्वका विभिन्न समस्याको समाधान दिन सक्ने पनि उनलेे बताएका छन्।
विकासमा प्रकृति जोगाउनुपर्नेमा जोड
भागवतले नेपालको उदाहरण दिँदै विकासका नाममा प्रकृतिलाई क्षति पुर्याउन नहुने बताए। हिमालय क्षेत्रबाट जाने भूभागमा विकासका प्रयासले प्राकृतिक अस्थिरता बढाएको र त्यसबाट ठूलो मानवीय क्षति भएको उनको भनाइ थियो।
उनले प्रविधि र आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने भए पनि वातावरण र नैतिक पक्षलाई बेवास्ता गर्न नहुने बताए।
‘विकास यस्तो हुनुपर्छ, जसले सबैलाई सँगै लिएर अघि बढोस्। विकास गर्ने क्रममा विकास गर्ने मानिस नै बाँकी नरहने अवस्था आउनु हुँदैन,’ उनले भने।
उनले अर्थतन्त्रसँगै पारिस्थितिक प्रणाली र नैतिकतालाई पनि ध्यानमा राखेर विकास गर्नुपर्ने बताए।
प्रविधि र एआईको सही प्रयोगमा जोड
भागवतले सूचना र प्रविधिको प्रयोग गर्दा सही र गलत छुट्याउन सक्ने विवेक आवश्यक रहेको बताए। प्रविधि आफैँमा साधन मात्र भएको भन्दै त्यसको प्रयोग कसरी गरिन्छ भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिको सही प्रयोग गर्नुपर्ने र नयाँ पुस्तालाई त्यसका लागि तयार पार्नुपर्ने बताए। साथै, ओटीटी प्लेटफर्ममा नियम आवश्यक रहेको उल्लेख गर्दै सरकार र प्रशासनले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे।
भारतलाई विश्वसामु उदाहरणका रूपमा प्रस्तुत गर्न नयाँ पुस्तालाई जिम्मेवारी वहन गर्न सक्ने बनाउनुपर्नेमा पनि उनले जोड दिए।
आरएसएसले हरेक वर्ष विजयादशमीका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। सन् १९२५ मा स्थापना भएको संगठनले यस वर्ष पनि नागपुरस्थित मुख्यालयमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा भागवतले शस्त्रपूजा गर्नुका साथै आरएसएसका संस्थापक केशव बलिराम हेडगेवारप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा भारतका पूर्वउपराष्ट्रपति जगदीप धनखड र उनकी पत्नी सुदेश धनखड, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, केन्द्रीय मन्त्री नितिन गडकरी तथा इजरायलका कन्सुल जनरल यानिभ रेभाचलगायत सहभागी थिए।


प्रतिक्रिया