टोक्यो – जापानले मंगल ग्रहको चन्द्रमा फोबोसको सतहबाट नमूना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) को प्रत्यक्ष प्रसारणअनुसार सोमबार जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट मार्सियन मुन्स एक्सप्लोरेसन (एमएमएक्स) अन्तरिक्षयान बोकेको एच–३ रकेट प्रक्षेपण गरिएको हो ।
अभियान योजनाअनुसार अघि बढेमा सन् २०३१ मा फोबोसबाट कम्तीमा १० ग्राम पदार्थ पृथ्वीमा ल्याइनेछ । करिब २ वर्षपछि फोबोसको सतहमा अवतरण गर्ने पहिलो प्रयास गरिनेछ ।
हालसम्म कुनै पनि अन्तरिक्षयान मंगल ग्रहको फोबोस वा यसको अर्को सानो चन्द्रमा डिमोसमा सफलतापूर्वक अवतरण गर्न सकेको छैन ।
सोभियत संघले सन् १९८८ मा २ वटा अन्तरिक्षयान पठाएको थियो । तर दुवै अभियान असफल भएका थिए ।
फोबोस–१ पृथ्वीबाट पठाइएको गलत आदेशका कारण आफ्नो दिशा नियन्त्रण गर्ने प्रणाली निष्क्रिय भएपछि मंगल ग्रहसम्म पुग्नुअघि नै सम्पर्कविहीन भएको थियो ।
फोबोस–२ ले करिब २ महिना मंगल ग्रह र फोबोसको अवलोकन गरे पनि सञ्चार प्रणालीमा समस्या आएपछि अभियान रोकिएको थियो । त्यसका कारण २ वटा साना अवतरणयान फोबोसमा पठाउने योजना कार्यान्वयन हुन सकेन ।
रुसले सन् २०११ मा फोबोसबाट नमूना ल्याउने उद्देश्यले पठाएको फोबोस–ग्रुन्ट अभियान पनि असफल भएको थियो । अन्तरिक्षयानको प्रणोदन प्रणालीले त्यसलाई पृथ्वीको कक्षबाट मंगल ग्रहतर्फ पठाउन सकेको थिएन ।
जाक्साको योजनाअनुसार एमएमएक्स अन्तरिक्षयान सन् २०२७ अगस्ट वा सेप्टेम्बरमा मंगल ग्रहमा पुग्नेछ । त्यसपछि अवलोकन सुरु गरेर सन् २०२८ को अन्त्य वा २०२९ को सुरुतिर फोबोसमा एउटा रोभर पठाइनेछ ।
अन्तरिक्षयानमा फ्रान्स र जर्मनीले संयुक्त रूपमा विकास गरेको २५ किलोग्राम तौलको आइडिफिक्स रोभर राखिएको छ । रोभर फोबोसको सतहमा खसालिनेछ र करिब १०० दिनसम्म त्यहाँको भौगोलिक अवस्था तथा सतहको अध्ययन गर्नेछ ।
त्यसपछि मुख्य अन्तरिक्षयानले फोबोसमा २ पटक अवतरण गरी नमूना संकलन गर्ने प्रयास गर्नेछ । सन् २०३० मा डिमोसको नजिकबाट उडान भरेपछि अन्तरिक्षयानको नमूना बोकेको क्याप्सुल पृथ्वी फर्किनेछ ।
फोबोसमा अवतरण किन चुनौतीपूर्ण ?
फोबोसको सबैभन्दा लामो भाग करिब २७ किलोमिटर मात्रै छ । यसको गुरुत्वाकर्षण निकै कमजोर भएकाले सामान्य तरिकाले नजिकको कक्षमा रहेर सञ्चालन गर्न कठिन हुन्छ ।
यस समस्यालाई समाधान गर्न एमएमएक्सले मंगल ग्रहको कक्षमा आफ्नो गति र स्थिति फोबोसको गतिसँग मिलाउनेछ । यसरी अन्तरिक्षयान फोबोसको वरिपरि स्थिर उपग्रहजस्तै रहने गरी सञ्चालन गरिनेछ ।
वैज्ञानिकहरूले अभियानबाट फोबोसको उत्पत्तिबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरेका छन् । फोबोस मंगल ग्रहमा ठूलो आकाशीय पिण्ड ठोक्किँदा उछिट्टिएका पदार्थबाट बनेको हो वा मंगल ग्रहको गुरुत्वाकर्षणले तानेर आफ्नो कक्षमा राखेको क्षुद्रग्रह हो भन्ने प्रश्नको उत्तर खोज्न नमुनाले सहयोग गर्नेछ ।
मंगलबाट नमूना ल्याउने प्रतिस्पर्धा
यसअघि विभिन्न अन्तरिक्ष अभियानले मंगल ग्रहको सतहबाट माटो तथा चट्टानका नमूना संकलन गरी अध्ययन गरिसकेका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोभरले पनि भविष्यमा पृथ्वीमा ल्याउन सकिने गरी नमूना सुरक्षित राखेको छ ।
तर युरोपेली अन्तरिक्ष एजेन्सीसँगको सहकार्यमा ती नमुना पृथ्वीमा ल्याउने योजनाले यसै वर्ष आर्थिक स्रोत गुमाएको छ ।
यसैबिच चीनको तियानवेन–३ अभियानले मंगल ग्रहको सतहबाटै नमुना संकलन गरी सन् २०३१ सम्ममा पृथ्वीमा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।
जापानको एमएमएक्स अभियान सफल भएमा मंगल ग्रहको चन्द्रमाबाट नमूना संकलन गरी पृथ्वीमा ल्याउने पहिलो अभियान बन्नेछ । यसले मंगल ग्रह र त्यसका चन्द्रमाको उत्पत्ति तथा विकासबारे वैज्ञानिक बुझाइ विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया