काठमाण्डु – इजरायल र इरानबीच सम्भावित सैन्य भिडन्तको जोखिम बढ्दै गएको इरानी अधिकारीले चेतावनी दिएका छन् ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफका सल्लाहकार मेहदी मोहम्मदीले दुवै देश सैन्य टकरावको जिरो आवरु नजिक पुगेको बताएका हुन् ।
मोहम्मदीले बुधबार आफ्नो टेलिग्राम च्यानलमा लेख्दै इरान र इजरायलबीच सैन्य भिडन्तका संकेत उल्लेखनीय रूपमा तीव्र भएको दाबी गरेका छन् ।
उनले इराकमाथि शत्रु पक्षका विमानको उडान बढ्नु, कब्जा गरिएका क्षेत्रमा सैन्य गतिविधि तीव्र हुनु र विभिन्न सम्भावित परिस्थितिको सामना गर्न लचिलो सैन्य तयारी गरिनुले तनाव बढेको देखाएको बताए । ‘शत्रु पक्ष जिरो आवरको नजिक पुगेको छ,’ उनले लेखेका छन् ।
यसैबीच, अमेरिकी समाचार वेबसाइट एक्सियोसले बुधबार इजरायली र अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इजरायलका दर्जनौं लडाकु विमान सोमबार इरानको सीमासम्म पुगेको जनाएको छ।
उक्त उडान सैन्य शक्ति प्रदर्शन गर्न र तेहरानलाई सैन्य कारबाहीबाट निरुत्साहित गर्ने उद्देश्यले गरिएको अधिकारीहरूको भनाइ छ।
अमेरिकासँग वार्ताका लागि इरान तयार
सैन्य तनाव बढिरहेका बेला इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले विश्वास निर्माण गर्ने र समस्याको समाधान खोज्ने तत्परता देखाए कूटनीतिक प्रयासका लागि इरान तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले अमेरिकाले कूटनीतिको सट्टा युद्ध रोजे त्यसले थप ठूलो रणनीतिक असफलता निम्त्याउने चेतावनी दिएका छन् ।
अराघचीले यसअघि फाइनान्सियल टाइम्स मा लेख प्रकाशित गर्दै पनि इरानको अडान सार्वजनिक गरेका थिए।
तर, युद्ध अन्त्य गर्न र स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुला गर्न इरानले अघि सारेको सातदिने प्रस्तावबारे मध्यस्थकर्तामार्फत भइरहेका भनिएका संवादको विस्तृत विवरण उनले दिएका छैनन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार पत्रकारहरूसँग कुरा गर्दै मध्यस्थताका प्रयासलाई स्वागत गर्ने बताए। तर, वार्ताका सर्तबारे अन्तिम निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने उनको भनाइ थियो ।
साउदीबाट अमेरिकी दूतावासका कर्मचारीलाई फर्किन निर्देशन
यसैबीच, अमेरिकाले साउदी अरबस्थित आफ्नो दूतावासका सबै कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ ।
एएफपीसँग कुरा गर्दै एक कूटनीतिक स्रोतले बुधबार उक्त जानकारी दिएको हो। साउदी अरबमाथि यमनका हुथी विद्रोहीले निरन्तर आक्रमण गरिरहेका बेला अमेरिकाले यस्तो कदम चालेको हो ।
स्रोतका अनुसार संयुक्त अरब इमिरेट्स, जोर्डन, कतार र बहराइनमा रहेका अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई पनि ती देश छाड्न निर्देशन दिइएको छ।
इरान(इजरायलबीच सम्भावित सैन्य भिडन्तको चेतावनी, अमेरिकी लडाकु विमानको गतिविधि र खाडी क्षेत्रमा अमेरिकी कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाउने निर्णयले मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको संकेत गरेको छ ।


प्रतिक्रिया