एजेन्सी– साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार यूएईको सीमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई आकाशमै रोकिएको थियो । त्यस क्रममा खसेको ड्रोनको भग्नावशेष अराम्कोको तेल केन्द्रमा खसेपछि दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपाल र फिलिपिन्सका नागरिक रहेको मन्त्रालयले जनाएको छ । घटनामा भारतीय र पाकिस्तानी एक–एक नागरिक घाइते भएका छन् ।
ड्रोनको भग्नावशेष खस्दा तेल केन्द्रमा क्षति पुग्नुका साथै ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो ।
घटनामा संलग्न ड्रोन कसले प्रक्षेपण गरेको हो भन्नेबारे साउदी अधिकारीहरूले खुलाएका छैनन् । यद्यपि, पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोहीहरूले साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार शैबहमा भएको पछिल्लो घटना साउदी अरबका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी भइरहेका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणको शृंखलाकै हिस्सा हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया