काठमाण्डु – अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले विश्वविद्यालय परिसरमा सञ्चालित चिनियाँ लगानीमा आधारित सांस्कृतिक केन्द्रहरू कन्फ्युसियस इन्स्टिच्युटलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतराका रूपमा वर्गीकरण गरेको छ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमार्फत यस्तो घोषणा गरेका हुन्। उनले पेन्टागनले राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएका संस्थाहरूको सूचीमा कन्फ्युसियस इन्स्टिच्युटलाई पनि समावेश गरेको बताए।
अमेरिकाले लामो समयदेखि यी केन्द्रहरूलाई चिनियाँ प्रचारप्रसारका माध्यमका रूपमा प्रयोग भइरहेको आरोप लगाउँदै आएको छ र तिनमाथि नियन्त्रण गर्न विभिन्न कदम चाल्दै आएको छ।
हेगसेथले अमेरिकी संसद् (कंग्रेस)ले प्रतिबन्ध लगाएपछि पनि कन्फ्युसियस इन्स्टिच्युटहरूले आफ्नो पहिचान लुकाएर सञ्चालन जारी राखेको दाबी गर्दै तिनलाई स्लीपर अर्गनाइजेसन अर्थात् सुप्त अवस्थामा रहेका संगठनको संज्ञा दिए।
‘३० वटा विश्वविद्यालयमा फरक–फरक नाम र फरक–फरक विधान प्रयोग गरेर ८० वटा नयाँ प्रचार केन्द्र खुलेका रहेछन्। तर तिनको उद्देश्य बौद्धिक सम्पत्ति चोरी गर्नु र अमेरिकी विद्यार्थीहरूको सोचमा घुसपैठ गर्नु रहेको थियो’, उनले भने।
भिडियोमा हेगसेथले चिनियाँ सरकारको समर्थनमा सञ्चालित सांस्कृतिक कार्यक्रमहरूले अमेरिकी विश्वविद्यालयहरूमा घुसपैठ गरेको र कंग्रेसका प्रतिबन्धका बाबजुद नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको बताए।
पछिल्ला दुई महिनामा पेन्टागनले यीमध्ये प्रत्येक संगठनलाई व्यवस्थित रूपमा विघटन गरेको पनि उनले दाबी गरे।
वासिङ्टनस्थित चिनियाँ दूतावासले यस विषयमा टिप्पणीका लागि रोयटर्सले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन ।


प्रतिक्रिया