अचानक चीन पुगे किम जोङ उन, दक्षिण कोरियाले राख्यो निगरानी

अचानक चीन पुगे किम जोङ उन, दक्षिण कोरियाले राख्यो निगरानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन चीन पुगेका छन् ।

उनी चीन पुगेको खबर सार्वजनिक भएपछि दक्षिण कोरियाले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चिओङ वा देले शनिबार किमको चीन भ्रमणबारे प्रतिक्रिया दिँदै सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो ।

केही दिनअघि किम जोङको मृत्यु भएको खबर भाइरल भएको थियो । पश्चिमा सञ्चारमाध्यममा किमको मृत्यु भएको खबरले सनसनी मच्चिएका बेला उनी सबैभन्दा निकट छिमेकीकहाँ पुल तरेर पुगेका हुन् ।

राष्ट्रपति कार्यालयले उत्तर कोरिया र चीन दुवै पक्षबाट आधिकारिक घोषणा नभइसकेकाले सबै सम्भावनालाई ध्यानमा राखेर घटनाक्रमको निगरानी गरिरहेको बताएको छ ।

दक्षिण कोरियाली सञ्चारमाध्यम चोसुन डटकमका अनुसार किम शनिबार चीनको लियाओनिङ प्रान्तस्थित दान्दोङ पुगेका हुन् । उनी नयाँ यालु नदी पुल हुँदै चीन प्रवेश गरेको बताइएको छ ।

किमको भ्रमण गत वर्ष सेप्टेम्बरपछि १ वर्ष १ महिनामा चीनको पहिलो भ्रमण हो । यद्यपि भ्रमणको उद्देश्य, अवधि र चिनियाँ नेतृत्वसँग हुने सम्भावित भेटघाटबारे दुवै देशले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

किमको भ्रमण यस्तो समयमा भएको छ, जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग संवाद पुन: सुरु गर्ने प्रयास गरिरहेका छन् ।

चीनको शेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकअघि उत्तर कोरियासँग वार्ताको वातावरण बनाउन अमेरिकी पक्ष सक्रिय रहेको समाचारमा उल्लेख छ ।

उत्तर कोरिया, चीन र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका दृष्टिले किमको यो भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

तर आधिकारिक विवरण सार्वजनिक नभएकाले भ्रमणको वास्तविक उद्देश्य र यसले क्षेत्रीय कूटनीतिमा पार्न सक्ने प्रभावबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।

दक्षिण कोरियाले भने परिस्थितिको मूल्यांकन गर्दै घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।