फिफा अध्यक्ष इन्फान्टिनोको दाबी : ‘विश्व फूटबलको ठूलो बहुमत मेरै पक्षमा छ’

फिफा अध्यक्ष इन्फान्टिनोको दाबी : ‘विश्व फूटबलको ठूलो बहुमत मेरै पक्षमा छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व फूटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्वप्रति विश्व फूटबलको ठूलो बहुमतको समर्थन रहेको दाबी गरेका छन् ।  

फिफाको विवादास्पद व्यावसायिक प्रस्तावलाई लिएर राजीनामा दिनुपर्ने माग उठे पनि उनले पद छाड्ने सम्भावनाबारे सोधिएको प्रश्नलाई हाँसेर टारेका छन् ।

बीबीसी स्पोर्ट्ससँग अजरबैजानको बाकुमा भएको अन्तर्वार्तामा इन्फान्टिनोले आफूलाई विश्वभरका फूटबल संघहरूको व्यापक समर्थन रहेको बताएका हुन् ।

सन् २०१६ देखि फिफाको नेतृत्व गर्दै आएका उनीमाथि पछिल्लो समय संस्थाको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्तावका कारण दबाब बढेको छ ।

‘फिफाजस्तो संस्थामा फरक विचार हुनु स्वाभाविक हो । असहमत हुनु गलत होइन । तर हामीले फरक विचारलाई सम्मान गर्दै अगाडि बढ्न सक्नुपर्छ,’ उनले भने ।

विवादास्पद प्रस्तावले दबाब

फिफाको ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) नामक प्रस्तावले संस्थाभित्र ठूलो विवाद निम्त्याएको थियो । योजनाअन्तर्गत फिफाले सञ्चालन गर्ने प्रतियोगिताहरूको व्यावसायिक अधिकारको केही हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने तयारी गरिएको थियो ।

तर प्रस्ताव सार्वजनिक भएपछि त्यसको पारदर्शिता, निर्णय प्रक्रिया र संस्थागत जवाफदेहितामाथि प्रश्न उठे । विवाद बढेपछि इन्फान्टिनोले उक्त प्रस्ताव केही दिनमै फिर्ता लिएका थिए ।

२ महिनाअघि युरोपेली फुटबल महासंघ (यूईएफए), एसियाली फूटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिकाको फूटबल हेर्ने कन्काकाफका प्रमुखहरूले इन्फान्टिनोमाथि विश्वास तोडेको आरोप लगाउँदै पत्रमा हस्ताक्षर गरेका थिए ।

यूईएफएले गत साता एफएफईसँग सम्बन्धित सबै महत्त्वपूर्ण कागजात आगामी २ नोभेम्बरसम्म सार्वजनिक गर्न फिफासँग माग गरेको छ ।  

यूईएफएका महासचिव थियोडोर थियोडोरिडिसले प्रस्तावबारे उठेका आधारभूत प्रश्नहरूको जवाफ नआएको बताएका छन् ।

फिफा परिषद्का सदस्यहरूले पनि माग गरिएका कागजात उपलब्ध नगराए इन्फान्टिनो अध्यक्ष पदका लागि योग्य नरहने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तर इन्फान्टिनोले कागजात कहिले सार्वजनिक हुन्छन् भन्ने स्पष्ट समयसीमा दिएका छैनन् । उनले कानुनी प्रक्रियाअनुसार काम भइरहेको र सम्भव भएसम्म प्रश्नहरूको जवाफ दिइने बताएका छन् ।

एसिया र अफ्रिकाको समर्थनले बलियो

विवादबिच इन्फान्टिनोले एसियाली र अफ्रिकी फूटबल संघहरूको समर्थन आफूले पाएको दाबी गरेका छन् । उनका अनुसार एसियाली फूटबल महासंघले आफूलाई पूर्ण समर्थन गरेको छ । यसअघि एएफसी अध्यक्ष शेख सलमानको अडानमा आएको परिवर्तनपछि इन्फान्टिनोको समर्थनसम्बन्धी अवस्था थप बलियो बनेको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै अफ्रिकी फूटबल महासंघ अन्तर्गतका सबै देशले पनि आफूलाई समर्थन गरेको उनको दाबी छ । ‘फिफाका २११ सदस्य संघले मलाई निर्वाचित गरेका हुन् । लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियालाई गम्भीर रूपमा लिने हो भने सबैको मत र आवाजको सम्मान गर्नुपर्छ,’ उनले भने ।

इन्फान्टिनोले फिफाको प्रशासनले केही काम अपेक्षाअनुसार गर्न नसकेको पनि स्वीकार गरेका छन् । यूईएफएसँगको सम्बन्ध सुधार गर्न थप संवाद आवश्यक रहेको उनको भनाइ छ ।

विश्वभरका फूटबल संघहरूसँग निरन्तर छलफल गरिरहेको र फरक विचारलाई सम्मान गर्ने उनले बताएका छन् ।

चौथो कार्यकालका लागि बाटो खुला ?

फिफाको अध्यक्ष पदका लागि आगामी वर्ष मार्चमा निर्वाचन हुँदैछ । इन्फान्टिनो चौथो कार्यकालका लागि निर्वाचित हुने सम्भावना बलियो देखिएको बीबीसीले जनाएको छ ।

निर्वाचनमा इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने व्यक्तिहरूले आफ्नो उम्मेदवारी पुष्टि गर्ने अन्तिम मिति १८ नोभेम्बर तोकिएको छ ।  

बीबीसीका अनुसार शुक्रबारसम्म उनीविरुद्ध कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छैनन् । त्यसैले इन्फान्टिनो निर्विरोध निर्वाचित हुन सक्ने सम्भावना पनि छ ।

यसैबिच उनले विश्वभर फूटबल विकासका लागि उपलब्ध गराइने रकम थप ३ अर्ब ४० करोड अमेरिकी डलर बढाउने प्रस्ताव गरेका छन् । यसले विभिन्न देशका फुटबल संघहरूको समर्थन थप बलियो बनाउन सक्ने आकलन गरिएको छ ।

इन्फान्टिनो अहिले अजरबैजानमा आयोजित पहिलो फिफा यू–१५ विश्वकप तथा फूटबल महोत्सवमा सहभागी छन् ।  

प्रतियोगितामा फिफाका १८९ सदस्य संघका टोली सहभागी छन् । सन् २०२७ को प्रतियोगिता महिलाका लागि आयोजना गर्ने र सन् २०२८ देखि महिला तथा पुरुषको प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन गर्ने फिफाको योजना छ ।