भक्तपुर – बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् ।
प्रथम महिला सविता पौडेलसहित राष्ट्र प्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन् ।
राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरूप प्रदान गरेको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उनले ग्रहण गरेका थिए ।
नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गरे । राष्ट्रपति पौडेललेलाई बागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नम्बर १ का संघीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरूले स्वागत गरेका थिए ।
१ लाख नगदसहित सम्मान
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई बागमती प्रदेश सरकारको तर्फबाट १ लाख नगद प्रदान गरे । सम्मानपत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गरे । नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाइ हुँदै आएको अवस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत १ लाखसहित सम्मान गरेको मुख्यमन्त्री थापा मगरले बताए । नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।
विक्रम संवत् २०४५ सालमा भूकम्प गएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राष्ट्रप्रमुखले पूजा अर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए । नवदुर्गाअन्तर्गत ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।


प्रतिक्रिया