एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ ।

नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नपाएपछि एनपीएलमा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको हो ।

यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति रोकिएको जनाइएको छ ।

सोमबारबाट सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणमा नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए । अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन् । तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ ।

एनपीएलसँग सम्बन्धित व्यक्तिहरूका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसी जारी गर्न शुल्क मागेको छ ।

प्रत्येक पाकिस्तानी खेलाडीका लागि करिब २५ हजार अमेरिकी डलर शुल्क मागिएको उनीहरूको भनाइ छ । यद्यपि पीसीबीले यस्तो माग लिखित रूपमा लिग आयोजकसमक्ष राखेको हो वा होइन भन्ने पुष्टि भएको छैन ।

यस वर्षको एनपीएलमा आठ टोली सहभागी हुँदैछन् । प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी हुनुपर्ने केही पाकिस्तानी खेलाडी भने काठमाण्डु आइसकेका छन् । अन्य केही खेलाडीले भने समस्या समाधान नभएसम्म नेपाल आउने आफ्नो योजना स्थगित गरेका छन् ।

एनओसी जारी गर्न मागिएको शुल्क नै विवादको मुख्य कारण बनेको हो वा वास्तवमै त्यस्तो शुल्क मागिएको हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । यस विषयमा पीसीबीले तत्काल जवाफ दिएको छैन ।

आइतबार भएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले पाकिस्तानी खेलडाीको सहभागिताबारे समन्वय भइरहेको र नेपाल आएका खेलाडीहरूलाई खेल्न समस्या नपर्ने गरी सहमति भइरहेको जानकारी दिएका थिए । ‘कुनै पनि खेलाडीले विदेशी लिगहरू खेल्न सम्बन्धित क्रिकेट बोर्डको अनुमति लिनुपर्छ । आइसीसीको औपचारिक लिस्ट ए टी–२० मान्यता एनपीएललाई निकै ढिलो प्राप्त भएका कारण यो समस्या आएको हुनसक्छ,’ खड्काले भने ।

एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, हैदर अली, हुनेन शाह, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली र उसामा मिर छन् । यीमध्ये कुनै पनि खेलाडीको सहभागिता एनपीएलको मितिसँग जुध्ने पाकिस्तानको कुनै पनि टोलीमा छैन ।

क्रिकइन्फोका अनुसार यसै वर्षको सुरुवातमा पीसीबीले केन्द्रीय खेलाडी अनुबन्धको नयाँ संरचना सार्वजनिक गरेको थियो ।

उक्त संरचनामा सीमित ओभरको क्रिकेट र लामो प्रारूपको क्रिकेटलाई स्पष्ट रूपमा छुट्याइएको थियो ।

नयाँ संरचनामा ‘फम्र्याट ट्रयाक डी’ नामको व्यवस्था पनि समावेश थियो, जसअन्तर्गत पर्ने खेलाडीलाई टी–२० विशेषज्ञका रूपमा वर्गीकरण गरिएको थियो । सैद्धान्तिक रूपमा यस व्यवस्थाले त्यस्ता खेलाडीलाई पीसीबीले तोकेको अन्तर्राष्ट्रिय जिम्मेवारीसँग मिति नजुध्ने सर्तमा आफूले चाहेका जति टी–२० लिग खेल्ने स्वतन्त्रता दिने अपेक्षा गरिएको थियो ।

यद्यपि, पीसीबीले सार्वजनिक रूपमा कुन पाकिस्तानी खेलाडी कुन ट्रर्याकमा पर्छन् भन्ने जानकारी दिएको छैन ।

नयाँ संरचना कार्यान्वयनमा आइसकेको छ वा छैन भन्ने कुरा पनि स्पष्ट छैन । यस वर्षको एनपीएलमा सहभागी हुने कुनै पनि खेलाडी हाल पाकिस्तानको एकदिवसीय अन्तर्राष्ट्रिय वा टेस्ट टोलीको योजनामा छैनन् ।