काठमाण्डु – सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ ।
तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ ।
विशेषगरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ ।
यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । तीमध्ये ८३ जना पुरूष, ३९ जना महिला, ७ बालक र ५ बालिका रहेका छन् । ती दुर्घटनामा परी २ हजार ९८८ जना घाइते भएका छन् । घाइते मध्ये ४३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् ।
चाडपर्वको अवधिमा दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा चालिएको कदमबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूको सुरक्षा तथा सहजताको लागि प्रभावकारी व्यवस्थापन गरेको छ । सवारी छुट्ने स्थानमै चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे/नराखेको चेकजाँच, टीसीए (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी लामो दूरीको सवारीसाधनहरूमा २ जना चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारीसाधनहरूको मेकानिकल टेष्ट (चेकजाँच) गर्दै सवारी साधनलाई सुरक्षति रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ ।’
सो अवधिमा देशका विभिन्न स्थानमा १ हजार ३३९ वटा सवारी दुर्घटनाका घटनाहरू भएका छन् । जसमध्ये काठमाण्डु उपत्यकामा १७१ वटा, कोशी प्रदेशमा ३९७ वटा, मधेशमा ८० वटा, बागमतीमा ११२ वटा, गण्डकीमा ९७ वटा, लुम्बिनीमा १६१ वटा, कर्णालीमा १७१ वटा र सुदूरपश्चिममा १५० वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा मोटरसाइकल १ हजार ५५२ वटा, जिप्कार ३३७ वटा, टेम्पो २०७ वटा, ट्रक ट्यांकर ७१ वटा, माइक्रोबस ६४ वटा, बस ५४ वटा, ट्रयाक्टर ३८ वटा, टिप्पर १५ वटा, डोजर/स्काभेटर/लोडर १० वटा र अन्य १३३ वटा गरी जम्मा २ हजार ४८१ वटा सवारीसाधनहरू संलग्न रहेका छन् । तथ्यांकको विश्लेषण गर्दा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा भएका छन् भने सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । गत वर्षको दसैंको अवधिमा कुल १ हजार ४९२ वटा सवारी दुर्घटनाका घटनाहरू भएका थिए ।
ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ७०३ सवारीसाधनमाथि कारबाही
दसैंको अवधिमा देशभरबाट ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको छ । जसमध्ये मादक पदार्थ सेवन अन्तर्गत २ हजार ७९४, सिट क्षमताभन्दा बढी १ हजार ८८२, तीव्र गति ७४६, यान्त्रिक परीक्षण कारबाहीतर्फ ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लापसे ५३ र टीसीएतर्फ ९ वटा गरी ५ हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको हो । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘प्रहरीले कारबाही गर्नेभन्दा पनि यात्रु एवम् चालकहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी दुर्घटना हुन सक्ने स्थानको पहिचान गरेर नियमित तथा आकस्मिक रूपमा चेकजाँच गर्ने गर्छ । सुरक्षित र मर्यादित सडकको प्रयोग एवम् सवारी आगमनलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीले विभिन्न प्रविधिहरूको समेत प्रयोग गरी कार्य गरिरहेको छ । ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाएको देखेमा, पाइएमा नजिकको प्रहरी कार्यालय वा १००/१०३ मा खबर गर्नुहुन आम नागरिकमा अनुरोध छ ।’
नेपाल प्रहरीले दुर्घटना न्यूनीकरणको लागि ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यस वर्षको दसैंको अवधिमा देशभर ४०८ वटा यात्रु सहायता कक्ष, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरी दुर्घटना न्यूनीकरणमा विशेष सतर्कता अपनाई कार्य गरिएको थियो ।
नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘दिपावली, नेपाल संवत् र छठपर्व’ लगायतका पर्वहरूलाई केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले सवारी दुर्घटना न्यूनीकरणमा विशेष योजना अवलम्बन गरी कार्य गरिरहेको छ ।


प्रतिक्रिया