इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल

इजरायली चुनौतीको सामूहिक रुपमा सामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् ।

बैठकमा साउदी अरबका रक्षामन्त्री, पाकिस्तानका सेना प्रमुख र टर्कीका गुप्तचर प्रमुख सहभागी हुनेछन् । क्षेत्रीय सुरक्षासम्बन्धी छलफलका लागि आयोजना गरिएको यो बैठक पाकिस्तानका सेना प्रमुख आसिम मुनीरको तेहरान भ्रमणका क्रममा प्रस्ताव गरिएको थियो । इरानले उक्त प्रस्तावलाई स्वागत गरेको बगाईले बताए ।

इरानी समाचार संस्था इरनालाई दिएको प्रतिक्रियामा बगाईले क्षेत्रीय देशहरूले आफ्नै हित र सुरक्षा चासोका आधारमा सुरक्षा संयन्त्र निर्माण गर्ने वा त्यसबारे विचार गर्ने प्रयासलाई सकारात्मक रूपमा लिएको बताए।

‘यो बैठक क्षेत्रीय देशहरूको आफ्नै पहलमा सुरक्षा सुनिश्चित गर्ने दिशामा थप कदम चाल्ने पूर्वाधार बन्न सक्छ । हामीले दशकौँदेखि क्षेत्रीय सुरक्षा त्यही क्षेत्रका देशहरूको इच्छा र सुरक्षा चासोमा आधारित हुनुपर्नेमा जोड दिँदै आएका छौँ,’ उनले भने ।

उनले पछिल्ला दुई वर्ष र विशेषगरी आठ महिनाका घटनाक्रमले क्षेत्रीय देशबीच सहकार्यको महत्त्व थप स्पष्ट पारेको बताए । उनका अनुसार दिगो र भरपर्दो क्षेत्रीय सुरक्षा आपसी विश्वास र सहकार्यबाट मात्रै सम्भव छ ।

बैठकमा सहभागी अधिकारीहरूले इरानी राष्ट्रपति र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बगाईले जानकारी दिए । यो पहिलो बैठक भएकाले क्षेत्रीय सुरक्षाका चुनौतीसहित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

इरानमाथि अमेरिकाले गरेको सैन्य आक्रमणका परिणामलाई पनि क्षेत्रीय सुरक्षाको छलफलमा समेट्नुपर्ने बगाईको भनाइ छ ।

इजरायलको चुनौती सामना गर्न क्षेत्रीय क्षमता बढाउनुपर्ने

बगाईले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र त्यहाँका सेना प्रमुखबीच इरानमाथि सम्भावित आक्रमणका विषयमा मतभेद रहेको भन्ने समाचारबारे प्रतिक्रिया दिँदै त्यसले इरानको रक्षात्मक तयारीमा असर नपार्ने बताए ।

उनले इजरायलको क्षेत्रीय गतिविधिलाई सुरक्षा अस्थिर बनाउने प्रयासको संज्ञा दिँदै त्यसको सामना गर्न क्षेत्रीय देशहरूले आफ्नो क्षमता बढाउनुपर्ने बताए ।

इजरायलमा हुन लागेको संसद् निर्वाचनबारे टिप्पणी गर्दै बगाईले त्यसलाई वास्तविक लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा स्वीकार गर्न नसकिने दाबी गरे । इरानका लागि इजरायलको नेतृत्वमा को आए भन्ने विषयले फरक नपार्ने उनको भनाइ थियो ।

सीमावर्ती गतिविधिमा इरानी निगरानी

इराननजिक ड्रोन बेस स्थापना गरिएको र इराक तथा इराकको कुर्दिस्तान क्षेत्रमा युक्रेनी गतिविधि भइरहेको भन्ने रिपोर्टबारे बगाईले सम्बन्धित निकायले अवस्थाको नजिकबाट निगरानी गरिरहेको बताए ।

उनले इरानको सशस्त्र बलले देशमाथि हुने खतरा र शत्रुतापूर्ण गतिविधिको सामना गर्न आवश्यक कदम चाल्ने बताए ।

युरोपप्रति पनि इरानको असन्तुष्टि

बगाईले युरोपेली देशहरूले इरानप्रतिको आफ्नो दृष्टिकोण वास्तवमै परिवर्तन गरेका छन् भन्नेमा शंका व्यक्त गरे । अमेरिकासँग मिलेर ‘स्न्यापब्याक’ संयन्त्र अघि बढाएको र इरानका आणविक केन्द्रमाथि भएका अमेरिकी–इजरायली सैन्य आक्रमणको निन्दा नगरेको भन्दै उनले युरोपेली देशहरूको आलोचना गरे ।

उनले युरोपका तीन देशले क्षेत्रीय घटनाक्रमलाई यथार्थपरक रूपमा मूल्याङ्कन गरी पश्चिम एसियाबारे स्वतन्त्र र रचनात्मक दृष्टिकोण अपनाउने आशा व्यक्त गरे ।

ब्राजिलको निर्वाचनबारे टिप्पणी गर्दै बगाईले त्यहाँका जनताले बाह्य दबाब र भ्रामक प्रचारको सामना गर्दै आफ्नै देशको हितअनुसार राजनीतिक निर्णय गर्ने क्षमता देखाएको दाबी गरे ।