म्याग्दी – दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन् ।
बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ ।
पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् ।
करिब २ दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि पुल निर्माण गरिएको थियो । सडक विभाग अन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मतसम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताइन् ।
पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको बताइन् ।
हाल बेलिब्रिज एकतर्फी सञ्चालन भइरहेको छ । नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीय अमृत पुनले बताइन् । दोबा जोड्ने एक मात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मतसम्भार गर्नुपर्ने उनको भनाइ छ ।
दोबामा करिब ३०० घर परिवारको बसोबास छ ।


प्रतिक्रिया