एनपीएलको पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै समेटियो, लुम्बिनीको कसिलो बलिङले विदेशी ब्याटर पनि निरीह

एनपीएलको पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै समेटियो, लुम्बिनीको कसिलो बलिङले विदेशी ब्याटर पनि निरीह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो ।

लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिमले तेस्रो संस्करणको सुरुवात भने निराशाजनक ब्याटिङबाट गरेको छ ।

सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतोले चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे । शेड्ली भान स्काल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए ।

सुदूरपश्चिमले चौथो ओभरमा २४ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । शेर मल्लले विनोद भण्डारीलाई नौ रनमा एलबीडब्ल्यु धरापमा पारे ।

त्यसपछि पाँचौँ ओभरमा आरिफ शेख र ब्रान्डन म्याकमुलेन आउट भए । आरिफ शून्य रनमा क्याच आउट भए भने म्याकमुलेन दुई रन बनाएर बोल्ड भए ।

सैफ जैब १३ रन बनाएर आउट भए । उनलाई शेड्ली भान स्काल्कविकले पेभेलियन फर्काए । इशान पाण्डेले सात रन बनाए । उनलाई तिलक भण्डारीको बलमा लुम्बिनीका कप्तान रोहित पौडेलले क्याच गरे ।

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफेन रदरफोर्डबाट ठूलो इनिङको अपेक्षा गरिएको थियो । तर, उनी एक रनमै आउट भए ।

शेर मल्लको बलमा विकेटकिपर आसिफ शेखले उनलाई क्याच गरे । सोही ओभरमा मल्लले स्कट कुगेलाइनलाई पनि आउट गरे । कुगेलाइनले खाता खोल्न सकेनन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले भने केही संघर्ष गरे । उनले २७ रन बनाए पनि टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन सकेनन् । किशोर महतोले दीपेन्द्रलाई बोल्ड गरेपछि अर्को बलमा हेमन्त धामीलाई पनि शून्य रनमा बोल्ड गरे ।

विदेशी खेलाडी पनि असफल

सुदूरपश्चिमका चारै विदेशी खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । ओपनर सैफ जैबले १३ रन बनाए पनि ब्रान्डन म्याकमुलेन दुई, शेरफेन रदरफोर्ड एक र स्कट कुगेलाइन शून्य रनमै आउट भए ।

सुदूरपश्चिमलाई सस्तैमा समेटेपछि लुम्बिनीले अब जितका लागि ८८ रन बनाउनुपर्नेछ ।