स्वर्णिम वाग्लेको अभिव्यक्ति र नेपालको राष्ट्रवाद

स्वर्णिम वाग्लेको अभिव्यक्ति र नेपालको राष्ट्रवाद

वाग्लेको अभिव्यक्तिको अर्थ लामो समयदेखि भारतसँग कायम विवादहरू समाप्त भएका छन् भन्ने होइन ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् १७७४ डिसेम्बरमा आफ्नो मृत्युभन्दा केही समयअघि आधुनिक नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहले नुवाकोटमा आफ्ना परिवारका सदस्य र सल्लाहकारहरूलाई भेला गरेका थिए । त्यही बेला उनले आफ्नो राज्य दुई ढुङ्गाबीचको तरुलजस्तै रहेको प्रसिद्ध उपमा दिएका थिए । दुई शताब्दीभन्दा बढी समय बितिसक्दा पनि नेपालको भूगोलसम्बन्धी बुझाइमा यो उपमा उत्तिकै प्रतिबिम्बित हुँदै आएको छ ।

वर्षौँदेखि नेपालको राज्य सञ्चालनको कला यही भौगोलिक असुरक्षाको धारणाबाट प्रभावित हुँदै आएको छ । घरेलु राजनीति कठिन बनेका बेला विभिन्न राजनीतिक नेतृत्वले पनि राष्ट्रवादी भावना उकास्न यही उपमा प्रयोग गर्दै आएका छन् । तर, आज नेपालको चुनौती भारत र चीनबीच आफ्नो अवस्थिति व्यवस्थापन गर्नुमा मात्र सीमित छैन । बरु, त्यही भौगोलिक अवस्थालाई राष्ट्रिय समृद्धिको अवसरमा रूपान्तरण गर्नु हो ।

यही पृष्ठभूमिमा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिले विशेष महत्त्व राख्छ । अक्टोबर २३ मा नयाँदिल्लीमा आयोजित एक शिखर सम्मेलनमा उनले भनेका थिए, ‘एक समय थियो, जब हामी नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्थ्यौँ । त्यो युग अब समाप्त भएको छ ।’

भारत र नेपाल ‘एकअर्कासँग अभिन्न रूपमा जोडिएका’ मुलुक भएको उल्लेख गर्दै उनले ‘भारतको उदय हुनु असाधारण रूपमा महत्त्वपूर्ण’ रहेको पनि बताए ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारका एक वरिष्ठ मन्त्रीबाट आएको यो अभिव्यक्ति कूटनीतिक शिष्टाचारमा मात्र सीमित थिएन । यसले नयाँ पुस्ताका नेताहरूले असन्तुष्टि र गुनासोको सट्टा आर्थिक अवसरलाई केन्द्रमा राखेर राष्ट्रवादको पुनःपरिभाषा गर्ने प्रयास गरिरहेको संकेत गरेको छ ।

नयाँ पुस्ता र फरक राजनीतिक जनादेश

वाग्लेको अभिव्यक्ति आएको समयलाई तीनवटा कारणले व्याख्या गर्न सकिन्छ । पहिलो कारण बालेन्द्र शाह नेतृत्वको सरकारलाई सत्तामा पुर्‍याउने आन्तरिक राजनीतिक रूपान्तरण हो ।

सन् २०२५ सेप्टेम्बरमा भएको जेनजी आन्दोलन सुरुमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध केन्द्रित थियो । तर, त्यो चाँडै भ्रष्टाचार र पुरानै राजनीतिक वर्गप्रति घट्दो विश्वासविरुद्धको व्यापक आक्रोशमा रूपान्तरित भयो ।

शाह नेतृत्वको सरकार नेपालले लामो समयदेखि भोग्दै आएको परम्परागत राजनीतिक शैलीको विकल्पका रूपमा उदाएको हो ।

काठमाण्डु महानगरपालिकाको मेयर हुँदा शाहले शासन सञ्चालनमा अपनाएको स्पष्ट र कडा शैलीबाट समर्थक जुटाएका थिए । उनका काम र अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिने गरेका थिए, जसले देशका युवामाझ प्रभाव पारेको थियो ।

परम्परागत राजनीतिक भाष्यप्रतिको उनको अस्वीकारले उनलाई स्थापित राजनीतिक नेताहरूभन्दा फरक बनायो । विशेषगरी रोजगारीको अभाव, राजनीतिक अस्थिरता र भ्रष्ट शासन व्यवस्थाबाट निराश युवा मतदातामाझ उनको यो शैली लोकप्रिय बन्यो ।

त्यसैले शाह नेतृत्वको सरकारले सुधार र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्रतिबद्धताका रूपमा अघि सारेको छ । यी प्राथमिकताहरू भारतप्रतिको शत्रुतासँग सम्बन्धित छैनन् ।

दोस्रो कारण आर्थिक यथार्थ हो । भारत र नेपालबीच पुस्तौँदेखि कायम सम्बन्धलाई प्रायः ‘रोटी–बेटीको सम्बन्ध’ भनेर वर्णन गरिन्छ । सीमापार विवाह, शिक्षा, पारिवारिक सम्बन्ध र स्थानीय अर्थतन्त्रले यो सम्बन्धलाई निरन्तरता दिँदै आएका छन् ।

नेपालको कुल वस्तु व्यापारको करिब ६२.३ प्रतिशत भारतसँग हुने गरेको छ । आर्थिक वर्ष २०२५÷२६ मा दुई देशबीचको द्विपक्षीय व्यापार ९ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको थियो ।

त्यसैगरी, सन् २०२४ मा नेपाल र भारतले आगामी १० वर्षभित्र नेपालबाट भारततर्फ विद्युत् निर्यात १० हजार मेगावाट पुर्‍याउने दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेका थिए । यो नेपालका लागि राजस्वको महत्त्वपूर्ण स्रोत बन्न सक्छ ।

तेस्रो कारण प्रधानमन्त्री शाहको यसै वर्षको अन्त्यतिर हुने अपेक्षा गरिएको भारतको पहिलो द्विपक्षीय भ्रमण हो । लामो समयदेखि प्रतीक्षा गरिएको यो भ्रमणले बदलिँदो राजनीतिक शैलीलाई थप बल दिन सक्छ । साथै, नेपालको राष्ट्रिय आत्मविश्वास नयाँदिल्लीसँग राजनीतिक दूरी कायम गरेर मात्र देखाउनुपर्छ भन्ने सोचलाई परिवर्तन गर्ने संकेत दिन सक्छ ।

बरू, यस्तो आत्मविश्वास आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित हुन सक्छ ।

यस भ्रमणको कार्यसूचीमा भैरहवास्थित एकीकृत जाँच चौकीको उद्घाटन, दोधारा चाँदनीमा जाँच चौकीको निर्माण, तल्लो अरुण जलविद्युत् परियोजनाको काम सुरू गर्ने तथा सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषय समावेश हुन सक्छन् ।

यी परियोजनाबाट विद्युत् उत्पादन, राजस्व वृद्धि, रोजगारी सिर्जना र मानिस तथा वस्तुको सहज आवागमन सम्भव भएमा दुवै देशले आफ्नो सम्बन्धलाई अझ बलियो आधार दिन सक्छन् । यस्तो सम्बन्ध टकरावको सट्टा ठोस सहकार्य र कूटनीतिक व्यावहारिकतामा आधारित हुनेछ ।

पुराना राष्ट्रवादी मतभेद अझै कायम

यद्यपि, पछिल्लो समयको परिचित राजनीतिक प्रवृत्ति अझै समाप्त भएको छैन । वाग्लेको अभिव्यक्तिप्रति रचनात्मक प्रतिक्रिया दिँदै नयाँ पुस्ताको नेपाली नेतृत्वसँग सहकार्य गर्ने अवसर भारतका लागि पनि छ । तर वाग्लेको अभिव्यक्तिप्रति नेपालका विपक्षी दलहरूले तीव्र आलोचना गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री कमल थापाले ‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै एउटा विशेष देशको विरोधमा आधारित थिएन’ भन्ने धारणा राखेका छन् । नेकपा (एमाले) का पूर्वमन्त्री गोकुल बास्कोटाले भने वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक दरिद्रता’ को संज्ञा दिएका छन् ।

भारत र नेपालबीचको संवादमा कूटनीतिक प्रतीकात्मकताभन्दा परका कठिन विषय पनि सम्बोधन गर्नुपर्नेछ । विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी क्षेत्रीय विवाद महत्त्वपूर्ण मुद्दा हुन् ।

भारतले सन् २०२० मा नेपालको संशोधित राजनीतिक नक्सा अस्वीकार गरेको थियो । यी प्रतिस्पर्धी क्षेत्रीय दाबीबारे छलफल गर्न दुवै पक्षबाट सूक्ष्म र कुशल कूटनीतिक पहल आवश्यक हुनेछ ।

शाहका लागि चुनौती भनेको विपक्षीको निगरानीबीच ठोस आर्थिक लाभ हासिल गर्नु हुनेछ । विपक्षी दलहरू कुनै पनि सहकार्य वा सम्झौतालाई घरेलु राजनीतिक विवादमा रूपान्तरण गर्न तत्पर रहन सक्छन् ।

सहुलियतबाट अवसरतर्फ

अन्ततः नेपालको नयाँ नेतृत्वको वास्तविक परीक्षा भारतसँगको सम्बन्धलाई लिएर सहुलियत कति दिइयो भन्ने आधारमा मूल्यांकन गर्ने राजनीतिक संस्कृतिबाट माथि उठ्न सक्नुमा हुनेछ । त्यसको सट्टा सहकार्यबाट कस्ता अवसर सिर्जना भए भन्ने कुरालाई महत्त्व दिनुपर्नेछ ।

वाग्लेको अभिव्यक्ति महत्त्वपूर्ण हुनुको कारण यही हो । यसको अर्थ लामो समयदेखि कायम विवादहरू समाप्त भएका छन् भन्ने होइन । बरु, नेपाल–भारत सम्बन्ध ती विवादहरूमा मात्र सीमित छैन भन्ने संकेत पनि यसले गर्छ ।

पृथ्वीनारायण शाहले दिएको दुई ढुङ्गाबीचको तरुलको उपमाले फरक समय र परिस्थितिमा नेपालको भौगोलिक अवस्थासम्बन्धी चिन्ता व्यक्त गरेको थियो । यदि वाग्लेको अभिव्यक्तिले नयाँ राजनीतिक यथार्थको सुरुवातलाई संकेत गर्छ भने दुई ढुङ्गाबीचको तरुलको उपमा नेपालको राष्ट्रिय पहिचान व्याख्या गर्ने प्रमुख रूपकका रूपमा अब अप्रासङ्गिक बन्दै जान सक्छ ।

लेखिका देसाई नयाँदिल्लीस्थित इन्डिया फाउन्डेसनका विशिष्ट फेलो हुन् ।