भारतीयका यस्तो छ चीनको नयाँ भिसा प्रक्रिया, आवेदन सेवा शुल्क हटाइयो

भारतीयका यस्तो छ चीनको नयाँ भिसा प्रक्रिया, आवेदन सेवा शुल्क हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- चीनले दक्षिणी छिमेकी भारतमा भिसा आवेदन प्रक्रिया परिवर्तन गरेको छ। फेरिएको व्यवस्थाअनुसार अक्टोबर २६ देखि नयाँ भिसा आवेदन तथा कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवा चीनका कूटनीतिक नियोगले प्रत्यक्ष रूपमा सम्हाल्ने भएका छन्।

यसअघि यी सेवा प्रदान गर्दै आएका नयाँदिल्ली, मुम्बई र कोलकाताका चिनियाँ भिसा आवेदन केन्द्रले नयाँ आवेदन लिन बन्द गरेका छन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार, चीनले अक्टोबर २२ मा जारी गरेको सूचनामार्फत नयाँ व्यवस्था सार्वजनिक गरेको हो।

अब नयाँदिल्लीस्थित चिनियाँ दूतावास र मुम्बईस्थित चिनियाँ महावाणिज्य दूतावासले सम्बन्धित क्षेत्रका आवेदकको भिसा आवेदन तथा कागजात प्रमाणीकरण प्रक्रिया सम्हाल्नेछन्।

कोलकातास्थित चिनियाँ महावाणिज्य दूतावासको क्षेत्राधिकारअन्तर्गत पर्ने आवेदकको सेवा अस्थायी रूपमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासबाट सञ्चालन हुनेछ।

यस परिवर्तनसँगै चीन भ्रमण गर्न चाहने भारतीय पर्यटक, व्यवसायी तथा अन्य यात्रुले आफ्नो बसोबासको क्षेत्रअनुसार सम्बन्धित कूटनीतिक नियोगमा आवेदन बुझाउनुपर्नेछ।

कुन क्षेत्रका आवेदन कहाँ ?

नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार महाराष्ट्र र कर्नाटकका आवेदकले मुम्बईस्थित चिनियाँ महावाणिज्य दूतावासमा आवेदन दिनुपर्ने भएको छ।

त्यस्तै, पश्चिम बंगाल, बिहार, झारखण्ड, ओडिशा र छत्तीसगढका आवेदकले अस्थायी रूपमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्नेछ।

अन्य भारतीय राज्य तथा केन्द्रशासित प्रदेशका आवेदकले पनि नयाँदिल्लीस्थित दूतावासबाट आवेदन प्रक्रिया अघि बढाउनेछन्।

कन्सुलर प्रमाणीकरणका लागि भने सम्बन्धित कागजात जारी भएको स्थानका आधारमा क्षेत्राधिकार निर्धारण गरिनेछ।

अक्टोबर २६ देखि तीनवटै सहरका भिसा आवेदन केन्द्रले नयाँ आवेदन लिन बन्द गरेका छन्। यसअघि नै आवेदन बुझाइसकेका व्यक्तिले भने अक्टोबर ३० को मध्याह्नसम्म पुरानै केन्द्रबाट प्रक्रिया पूरा भएका कागजात लिन सक्नेछन्।

अनलाइन आवेदन अनिवार्य

नयाँ व्यवस्थाअनुसार आवेदकले राहदानी र अन्य कागजात बुझाउनुअघि अनलाइन आवेदन प्रक्रिया पूरा गर्नुपर्ने भएको छ।

आवेदकले चीनको विदेश मन्त्रालयको आधिकारिक भिसा आवेदन पोर्टलमा फाराम भरेर आवश्यक कागजात अपलोड गर्नुपर्ने भएको छ। अनलाइन समीक्षा स्वीकृत भएपछि इमेलमार्फत जानकारी प्राप्त हुनेछ।

त्यसपछि आवेदकले ३० दिनभित्र आफ्नो राहदानी, आवेदन फाराम र आवश्यक कागजात तोकिएको दूतावास वा महावाणिज्य दूतावासमा बुझाउनुपर्नेछ।

आवेदन सेवा शुल्क हटाइयो

चीनले नयाँ व्यवस्थासँगै योग्य आवेदकका लागि भिसा आवेदन केन्द्रले लिने सेवा शुल्कसमेत हटाएको छ।

अक्टोबर २३ को साँझ ५ बजेपछि अनलाइन आवेदन बुझाउने आवेदकलाई आवेदन केन्द्रको सेवा शुल्क नलाग्ने हिन्दुस्तान टाइम्सले जनाएको छ। तर, उक्त समयभन्दा पहिले आवेदन बुझाएर सेवा शुल्क तिरिसकेका व्यक्तिले रकम फिर्ता पाउने छैनन्।

आवेदन केन्द्रको सेवा शुल्क हटाइए पनि चिनियाँ अधिकारीले लिने भिसा शुल्क भने छुट्टै लागू हुनेछ। भिसाको प्रकार र छिटो प्रक्रिया पूरा गर्ने सेवाअनुसार शुल्क फरक हुन सक्नेछ।

औँठाछापमा अस्थायी छुट

चीनले भिसा आवेदनका क्रममा औँठाछाप संकलनसम्बन्धी व्यवस्थामा पनि छुट दिएको छ। १८० दिनसम्म बस्ने उद्देश्यले आवेदन दिने छोटो अवधिका भिसा आवेदकलाई सन् २०२६ डिसेम्बर ३१ सम्म अस्थायी रूपमा औँठाछाप दिनबाट छुट दिइएको छ।

यद्यपि, यो छुट सबै प्रकारका भिसामा लागू नहुने भएकाले आवेदन दिनुअघि सम्बन्धित भिसा श्रेणीका आवश्यकताबारे जानकारी लिनुपर्नेछ।

पर्यटक भिसालाई आर्थिक प्रमाण आवश्यक

चीनको पर्यटक भिसाका लागि आवेदन दिने भारतीय नागरिकले आर्थिक हैसियत पुष्टि गर्ने कागजातसमेत बुझाउनुपर्ने भएको छ।

आवेदकले पछिल्लो छ महिनाको बैंक विवरण पेस गर्नुपर् भएको छ। उक्त विवरणमा औसत मासिक मौज्दात कम्तीमा एक लाख भारतीय रुपैयाँ रहेको देखिनुपर्नेछ।

यसको विकल्पमा समान रकमको योग्य निक्षेप प्रमाणपत्र पनि पेस गर्न सकिनेछ। यस्तो निक्षेप आवेदन दिनुभन्दा कम्तीमा तीन महिनाअघि गरिएको हुनुपर्नेछ।

चिनियाँ दूतावासले आवेदन दिनुअघि आधिकारिक सूचना र आवश्यक कागजातको सूची जाँच गर्न आग्रह गरेको छ। यी नयाँ व्यवस्था मुख्यभूमि चीनको भ्रमणका लागि लागू हुनेछन्। हङकङ र मकाउका लागि भने छुट्टै प्रक्रिया कायम रहनेछ।

चीनले भिसा आवेदन केन्द्रमार्फत हुँदै आएको सेवा हटाएर आवेदन प्रक्रिया प्रत्यक्ष रूपमा कूटनीतिक नियोगबाट सञ्चालन गर्न थालेपछि भारतीय आवेदकले नयाँ प्रक्रियाअनुसार आवेदन दिनुपर्ने भएको छ।