नयाँदिल्ली – भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।
भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ ।
विभागले मंगलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । केही जिल्लामा मंगलबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ ।
राज्यका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिएको उनको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । द इन्डियन एक्सप्रेसका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने ४ हजार ७०० भन्दा बढी गर्भवती महिलालाई अस्पतालमा सारिएको छ ।
भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरू पूर्णरूपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउन सक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्न सक्ने चेतावनी दिएको छ । आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पुर्याउन सक्ने विभागको अनुमान छ ।
बंगालको खाडी र उत्तरी हिन्द महासागरमा चक्रवात नियमित जोखिमका रूपमा रहँदै आएका छन् । उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई ‘हरिकेन’ र प्रशान्त महासागरमा ‘टाइफुन’ भनिन्छ । यसपटक एल निनो मौसमी घटनाले तापक्रम असाधारण रूपमा बढाएकाले आँधीको मौसम थप शक्तिशाली बनेको समाचारमा उल्लेख छ ।
यसैबिच छिमेकी श्रीलंकामा पनि मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ । त्यहाँको मौसम विज्ञान विभागले आँधीका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने जोखिम औँल्याउँदै विद्यालयहरू बन्द गरेको छ । कोलम्बोस्थित विपद् व्यवस्थापन केन्द्रका अनुसार सेनालाई पनि सतर्क अवस्थामा राखिएको छ ।


प्रतिक्रिया