काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टाचार भेट गरेकी छन् ।
मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबिच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै यही कात्तिक १२ गते काठमाण्डुमा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त एजेन्डा सार्वजनिक गरिने बताइन् ।
कोप–३१ मा नेपालको जलवायुजन्य विपद्का अनुभव, प्रभाव तथा चुनौतीलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न विशेष प्याभिलियन स्थापना गर्ने तयारीबारे छलफल भएको थियो । उक्त प्याभिलियन सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय निकायबाट सहयोग अपेक्षा गरिएको मन्त्री चौधरीले उल्लेख गरिन् ।
भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायहरूको प्रतिनिधित्व र सहयोग आवश्यक रहेकामा मन्त्री चौधरीले जोड दिइन् ।
कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेनजी युवा तथा सञ्चारकर्मीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सहयोगका विषयमा पनि संयुक्त राष्ट्रसंघीय निकायहरूसँग छलफल भएको थियो ।
बैठकमा जलवायु परिवर्तनका असर न्यूनीकरण, नेपालको जलवायुजन्य विपद्का अनुभव र चुनौतीलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तथा सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय र नागरिक समाजबिच सहकार्य सुदृढ गर्ने विषयमा जोड दिइएको थियो ।


प्रतिक्रिया