काठमाण्डु- इजरायलको आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वर्तमान दक्षिणपन्थी गठबन्धनले संसद्मा बहुमत गुमाउने संकेत देखिएको छ ।
मंगलबार सम्पन्न निर्वाचनपछि सार्वजनिक भएका एक्जिट पोलले नेतान्याहुको गठबन्धन बहुमतका लागि आवश्यक सिटभन्दा निकै पछाडि रहने देखाएका हुन् ।
तर, नेतान्याहुको विकल्पमा अर्को सरकार गठन गर्न विपक्षी गठबन्धनलाई पनि पर्याप्त सिट नपुग्ने देखिएपछि राजनीतिक अन्योल बढेको छ ।
इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ । प्रमुख तीन टेलिभिजन च्यानल च्यानल ११, च्यानल १२ र च्यानल १३ का प्रारम्भिक एक्जिट पोलअनुसार नेतान्याहुको पक्षमा रहेका दलले ५० सिट र यहुदी नेतृत्वका विपक्षी दलले ५२ सिट जित्ने अनुमान गरिएको थियो ।
यद्यपि, मंगलबार राति अबेर अद्यावधिक गरिएको च्यानल १२ को एक्जिट पोलमा नेतान्याहु पक्षको सिट संख्या बढेर ५२ पुगेको छ भने यहुदी नेतृत्वका विपक्षी दलको सिट संख्या घटेर ४९ मा झरेको छ ।
बाँकी १८ देखि १९ सिट अरब नेतृत्वका दुई दलले जित्ने अनुमान गरिएको छ । यो अनुमान सही साबित भएमा अरब नेतृत्वका दलले इजरायली संसद्मा अहिलेसम्मकै ठूलो प्रतिनिधित्व हासिल गर्नेछन् । हाल संयुक्त सूची (जोइन्ट लिस्ट) र राम दलसँग जम्मा १० सिट छन् ।
अरब नेतृत्वका दलले पनि नेतान्याहुलाई अर्को कार्यकाल दिन नहुने धारणा राखेका छन् । यस आधारमा नेतान्याहुको विपक्षमा ६८ देखि ६९ सिट पुग्न सक्ने देखिन्छ ।
तर, यहुदी नेतृत्वका चारमध्ये तीन विपक्षी दलले अरब नेतृत्वका दलसँग मिलेर सरकार नबनाउने प्रतिबद्धता जनाएकाले नयाँ सरकार गठनको बाटो जटिल बनेको छ ।
निर्वाचनको आधिकारिक मतगणना सुरु भइसकेको छ । अन्तिम परिणाम शुक्रबारसम्म आउन सक्ने अनुमान गरिएको छ ।
एक्जिट पोलका नतिजा वास्तविक मतपरिणामभन्दा फरक पर्न सक्ने भएकाले राजनीतिक दलका नेताहरूले आधिकारिक नतिजा पर्खन आग्रह गरेका छन् ।
लिकुड सबैभन्दा ठूलो दल बन्ने अनुमान
तीन प्रमुख टेलिभिजन च्यानलका एक्जिट पोलमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा ठूलो दल बन्ने अनुमान गरिएको छ । तर, सन् २०२२ को निर्वाचनमा पाएको ३२ सिटको तुलनामा यसपटक उसको सिट संख्या घटेर २४ देखि २५ मा सीमित हुने अनुमान छ ।
टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुका प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको याशार पार्टीले २१ देखि २३ सिट जित्ने अनुमान गरिएको छ । यससँगै विपक्षी दलहरूबीच सरकार गठनका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ ।
विपक्षी दल बीयाखादले १२ देखि १३ सिट जित्ने अनुमान छ । अरब नेतृत्वको संयुक्त सूचीले ११ सिट, वामपन्थी डेमोक्र्याट्सले नौदेखि १० सिट र दक्षिणपन्थी विपक्षी दल यिसरेल बेइतेनुले सातदेखि आठ सिट पाउने अनुमान गरिएको छ ।
त्यस्तै, अरब नेतृत्वको राम दलले सात सिट जित्ने अनुमान छ । अति-रुढिवादी शास दलले छदेखि आठ सिट, युनाइटेड टोरा जुडाइज्मले छदेखि सात सिट र इटामार बेन गभिर नेतृत्वको अतिदक्षिणपन्थी ओत्ज्मा येहुदितले छदेखि सात सिट पाउने अनुमान गरिएको छ । धार्मिक जियोनिज्म पार्टीले छ सिट पाउने अनुमान छ ।
यद्यपि, नेतान्याहुको पक्षधर मानिने च्यानल १४ को एक्जिट पोलले भने उनको गठबन्धनलाई ६२ सिट दिएको छ । उक्त पोलमा विपक्षी गठबन्धनले ४० र अरब नेतृत्वका दलले १८ सिट पाउने अनुमान गरिएको छ ।
त्यस्तै, नेतान्याहुप्रति अनुकूल मानिने आई२४ न्युजले नेतान्याहु पक्षलाई ५५, विपक्षीलाई ४९ र अरब नेतृत्वका दललाई १६ सिट दिएको छ ।
नयाँ च्यानल १६ को एक्जिट पोलमा नेतान्याहु पक्षले ५३, विपक्षीले ५१ र अरब नेतृत्वका दलले १६ सिट पाउने अनुमान गरिएको छ ।
विभिन्न च्यानलका एक्जिट पोलमा फरक-फरक परिणाम देखिएकाले अन्तिम नतिजाअघि सरकार गठनको समीकरण स्पष्ट हुन सकेको छैन ।
विपक्षीलाई अरब दलको साथ लिने चुनौती
एक्जिट पोल सार्वजनिक भएपछि याशार पार्टीका नेता आइजेनकोटले परिणामलाई नेतान्याहु सरकारप्रतिको अविश्वासको संकेतका रूपमा व्याख्या गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै परिणाम अन्तिम भएमा यो ‘नेतान्याहु र अक्टोबर ७ को सरकारप्रति जियोनिस्ट बहुमत तथा अधिकांश इजरायली नागरिकको अविश्वासको पूर्ण मत’ हुने बताएका छन् ।
उनले जनताको चाहनाअनुसार तत्काल काम गर्ने, नेतान्याहु नेतृत्वको सरकार विस्थापित गर्ने र सबै नागरिकलाई अनिवार्य सैनिक सेवामा सहभागी गराउने प्रतिबद्धतासहित नयाँ सरकार गठन गर्ने बताएका छन् ।
तर, त्यसका लागि आवश्यक संसदीय समर्थन जुटाउनु आइजेनकोटका लागि चुनौतीपूर्ण देखिएको छ । उनले अरब नेतृत्वका दललाई सरकारमा सहभागी गराएर वा सरकार गठनसम्बन्धी मतदानमा उनीहरूको अनुपस्थितिलाई उपयोग गरेर अल्पमतको सरकार बनाउने विकल्प रोज्न सक्छन् ।
यद्यपि, यिसरेल बेइतेनुका नेता अभिग्दोर लिबरम्यान र बीयाखादका नेता नफ्ताली बेनेटले अरब नेतृत्वका दलको सहयोगमा सरकार गठन नगर्ने प्रतिबद्धता जनाएका छन् । बहुमत जुटाउन उनीहरूले आफ्नो प्रतिबद्धता परिवर्तन गर्नुपर्ने हुन सक्छ ।
यी दुवै नेता सन् २०२१ देखि २०२२ सम्म राम दल सहभागी भएको गठबन्धन सरकारमा सहभागी भएका थिए ।
आइजेनकोट स्वयंले पनि प्यालेस्टिनी राष्ट्रवादी धारसँग नजिक रहेको संयुक्त सूची र तुलनात्मक रूपमा मध्यम धारको राम दल दुवैसँग गठबन्धन गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाएका छैनन् ।
यसबीच, केही राजनीतिक विश्लेषकले फरक राजनीतिक धारका दल मिलेर राष्ट्रिय एकताको सरकार गठन हुन सक्ने सम्भावना पनि औंल्याएका छन् । तर, विपक्षी दलहरूले नेतान्याहु र अति-रुढिवादी दलहरूसँग मिलेर सरकार नबनाउने बताएका छन् ।
वामपन्थी डेमोक्र्याट्सका नेता यायर गोलानले भने सरकार परिवर्तनका लागि आफ्ना सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै इजरायलमा परिवर्तनको सरकार गठन गर्ने ऐतिहासिक अवसर आएको र त्यसलाई गुमाउन नहुने बताएका छन् । निर्वाचन अभियानका क्रममा उनले राम दलसँग सहकार्य गर्न सकिने धारणा राखेका थिए ।

अरब नेतृत्वका दलको ऐतिहासिक सफलता
एक्जिट पोलले अरब नेतृत्वका दलको संसद्मा प्रतिनिधित्व उल्लेखनीय रूपमा बढ्ने संकेत गरेपछि उनीहरूका समर्थकले उत्सव मनाएका छन् ।
राम दलका नेता मन्सुर अब्बासले राजनीतिक गतिरोधका बीच दुवै पक्षका नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका छन् । च्यानल १२ सँग कुरा गर्दै उनले नेतान्याहु पक्षका व्यक्तिहरूले समेत छलफलका लागि सम्पर्क गरेको संकेत दिएका छन् ।
अब्बासले आइजेनकोट नेतृत्वको सरकारमा सहभागी हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । तर, त्यस्तो गठबन्धन बन्न सक्ने अवस्था स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
उनले अहिलेको अवस्थामा सरकार गठन गर्न आवश्यक सिट संख्या नपुगेको पनि स्वीकार गरेका छन् । एक्जिट पोलअनुसार यहुदी नेतृत्वका विपक्षी दलसँग ५२ र रामसँग सात सिट भए पनि सरकार गठनका लागि आवश्यक ६१ सिट पुग्दैन ।
संयुक्त सूचीको मुख्यालयमा पनि एक्जिट पोल सार्वजनिक भएपछि समर्थकहरूले खुसी मनाएका थिए । पार्टीले १० देखि ११ सिट जित्ने अनुमान सार्वजनिक भएपछि समर्थकहरूले बेन गभिरविरुद्ध नाराबाजी गरेका थिए ।
संयुक्त सूचीका नेता युसेफ जबारिनले नेतान्याहु, अर्थमन्त्री बेजालेल स्मोट्रिच र वर्तमान सरकारलाई सत्ताबाट हटाउने आशा व्यक्त गरेका छन् ।
२५ वर्षयताकै उच्च मतदान
यस निर्वाचनमा पछिल्लो २५ वर्षयताकै उच्च मतदान भएको बताइएको छ । ७७ प्रतिशतभन्दा बढी मतदाताले मतदानमा भाग लिएका छन् ।
निर्वाचन आयोगले रातभर मतगणना गर्ने र क्रमशः आधिकारिक परिणाम सार्वजनिक गर्ने जनाएको छ । एक्जिट पोलका अनुमान वास्तविक नतिजासँग फरक पर्न सक्ने भएकाले अन्तिम परिणामले नै सरकार गठनको सम्भावना निर्धारण गर्नेछ ।
लिकुड सबैभन्दा ठूलो दल बने पनि उसले बहुमत जुटाउन नसक्ने अवस्था आएमा नेतान्याहु र आइजेनकोट दुवैले राष्ट्रपति इसाक हर्जोगसमक्ष सरकार गठनको अवसरका लागि पहल गर्न सक्नेछन् ।
इजरायलमा राष्ट्रपतिले सरकार गठन गर्न सबैभन्दा बढी सम्भावना भएको नेताको नाम सिफारिस गर्छन् । तर, कुनै पनि नेताले आवश्यक समर्थन जुटाउन नसकेमा पुनः निर्वाचन हुन सक्छ । सन् २०१९ देखि २०२२ को अवधिमा इजरायलले पाँच पटक निर्वाचन गर्नुपरेको थियो ।


प्रतिक्रिया