काठमाण्डु –गत फागुन २१ गते भएको पछिल्लो निर्वाचनको धक्काबाट बाहिर निस्कँदै पार्टीको राजनीतिक प्रभाव पुनःस्थापित गर्ने रणनीतिसहित नेकपा (एमाले)ले राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ।
आगामी मंसिर २ र ३ गते आयोजना हुने भेलामार्फत पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने, संगठनलाई चलायमान बनाउने र आगामी स्थानीय तहको निर्वाचनका लागि नेता-कार्यकर्तालाई परिचालित गर्ने एमालेको योजना छ।
भेलाको तयारीका लागि पार्टी केन्द्रीय कार्यालयमा बुधबार उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा मंगलबार दोस्रो बैठक सम्पन्न भएको छ।
बैठकमा पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीविकाका मुद्दा र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर छलफल भएको थियो।
बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसम्मका विषयमा एमालेका नेता-कार्यकर्ताबीच एउटै बुझाइ र साझा राजनीतिक लय विकास गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए।
केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको उल्लेख गर्दै पौडेलले उक्त निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न राष्ट्रिय भेला महत्वपूर्ण हुने बताए।
भेलाले पार्टी पङ्क्तिमा उत्साह भर्ने र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा परिचालित गर्ने उनको विश्वास थियो।
निर्वाचनको धक्कालाई अस्थायी प्रमाणित गर्ने चुनौती
एमालेले २०८२ सालको निर्वाचन परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा व्याख्या गर्दै आएको छ। अब यही राजनीतिक बुझाइलाई व्यवहारबाट पुष्टि गर्ने चुनौती पार्टीसामु छ।
उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै एमालेको राजनीतिक उपस्थिति पुनःस्थापित गर्न नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।
राष्ट्रिय भेलाबाट पार्टीलाई पुरानै राजनीतिक धारमा फर्काउने, संगठनलाई थप सक्रिय बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने प्रयास गरिने उनको भनाइ थियो।
‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ पौडेलले भने।
पौडेलको यो भनाइले एमालेले आगामी दिनमा चुनावी प्रतिस्पर्धासँगै आवश्यकताअनुसार सडक संघर्षका लागि समेत पार्टी पङ्क्तिलाई तयार राख्न खोजेको संकेत गरेको छ । पार्टीको राजनीतिक प्रभाव विस्तार गर्न संगठनात्मक सक्रियता र जनस्तरमा पहुँच बढाउनुपर्ने चुनौती एमालेसामु छ।
३ हजार १६४ जनाको सहभागिता, संगठन परिचालनमा जोड
एमालेले राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि स्थानीय तहका कमिटी, जनसंगठन र जनप्रतिनिधिसम्मका प्रतिनिधि सहभागी गराउने भएको छ। पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ।
भेलामा ३४६ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना सहभागी हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्।
पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।
संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना भेलामा सहभागी हुनेछन्। जनसंगठनबाट ९६ जना सहभागी हुनेछन् ।
नेता-कार्यकर्तालाई सक्रिय परिचालन गर्न निर्देशन
बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे। भेलाको उद्देश्य र सन्देश पार्टी पङ्क्तिसँगै जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसारमा जुट्नुपर्ने उनको भनाइ थियो।
बैठकको अध्यक्षता गरेका सचिव ढकालले भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराएका थिए।
एमालेले राष्ट्रिय भेलालाई केवल औपचारिक जमघटका रूपमा नभई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई पुनः सक्रिय बनाउने र आगामी निर्वाचन तथा राजनीतिक गतिविधिका लागि साझा रणनीति निर्माण गर्ने अवसरका रूपमा अघि सारेको छ।
तर, भेलाबाट पारित हुने सन्देश र निर्णयलाई स्थानीय तहसम्म कति प्रभावकारी रूपमा कार्यान्वयन गरिन्छ भन्ने विषयले नै एमालेको चुनावी पुनरागमनको प्रयासलाई निर्णायक बनाउनेछ। नेता–कार्यकर्तामा उत्साह भर्ने घोषणा मात्र पर्याप्त हुने छैन, त्यसलाई जनमतमा रूपान्तरण गर्नु पार्टीका लागि मुख्य चुनौतीका रूपमा उभिएको छ।


प्रतिक्रिया