सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेपछि स्वास्थ्य क्षेत्रको तयारीलाई सुदृढ बनाउन सरकारले निर्देशन पनि दिएको छ ।

यस सम्बन्धमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीनकार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य सेवा तथा प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न आग्रह गरेको छ।

इकाईका प्रमुख डा.हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न,निजको सम्पर्क विवरण इकाईमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनिएको छ ।

त्यसैगरी,सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी)सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति,औषधि,स्वास्थ्य सामग्री,उपकरण,एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ।

विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज,शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ।

इकाईले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ।

सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन,आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न यी तयारीलाई प्राथमिकतामा राखिएको हो।